• ११ पुस २०८१, बिहिबार

चीनमा भूकम्पबाट १२७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त

blog

दहेजियाको काङ्गडियाओ गाउँमा भूकम्पपछि उद्धारकर्मीहरूले बाँचेकाहरूका लागि घर खोज्दै। तस्बिर : एएफपी

दहेजिया (चीन), पुस ३ गते ।     

उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।     

गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।  त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ । 

सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।  सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।     

 “म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन”, उक्त घरका बासिन्दा वेनचाङले भन्नुभयो, “म अब यो घरमा बस्न सक्तिनँ किनकि यो धेरै खतरनाक छ, मेरा आफन्तलाई अन्यत्र कतै सारिएको छ ।”     

यो पनि पढ्नुहोस

अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपत्कालीन सवारीले भरिएका थिए ।     

 साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । “हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकि आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।”   रासस, एएफपी