• १५ मंसिर २०८१, शनिबार

रोजगार शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी

blog

ठाकुरबाबा नगरपालिका–३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको उद्घाटनसत्रमा बोल्नुहुँदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : मुकुन्द सुवेदी

मुकुन्द सुवेदी

बर्दिया, पुस ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षामाथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री चौधरीले हाम्रो मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रित भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुनेगरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘शिक्षा, शिक्षकमाथि उठ्ने गरेका टिप्पणी र प्रश्न अब हामी सबैका साझा भइसक्यो । यसलाई निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडि बढ्नुपर्छ ।’

शिक्षाले कुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

शिक्षालाई आवश्यकताअनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ठाकुरबाबा नगरपालिका –३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको अवसरमा विद्यालय स्थापनाकालदेखिका संस्थापक सदस्य तथा शिक्षकलाई सम्मान गरेको थियो । बर्दियाको तेस्रो पुरानो अग्रणी शिक्षण संस्थाको रूपमा रहेको यस विद्यालयको स्थापना २०३० पुस ३ गते भएको थियो ।