• १४ मंसिर २०८१, शुक्रबार

निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत

blog

नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाश शरण महत । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस ३ गते । 
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री महतले यही देशमा सम्भावना छ, यही देशमा केही हुन्छ भनेर जानु आवश्यक भएको बताउनुहुँदै नागरिकमा निराशा पैदा गर्नेको खिलापमा जानुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनको मङ्गलबार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले नेपालमै धेरै अवसर रहेको र यसको उपयोग गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

मन्त्री महतले हामी एक भएर निर्वाचनको समयमा पार्टीको पक्षमा एकीकृत भयौ भने आगामी निर्वाचनमा बहुमत आउने भन्नुहुँदै यसका लागि एकता भाव, सद्भाव, सहकार्य र समर्पणमा कमी आउन दिनु नहुने बताउनुभयो ।


मन्त्री महतले भन्नुभयो, ‘‘पार्टीभित्र देखिएका कतिपय समस्याले एक अर्काप्रति तिक्तता विकसित भयो । यो आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुन्छ । देशभरि रोग छ र समस्या छ यसलाई निर्मूल गर्ने बित्तिकै हाम्रो पार्टी पहिलो पार्टी मात्र होइन बहुमत पार्टी हुन्छ ।’’

हामी निराश हुनुपर्ने कुनै कारण नभएको भन्नुहुँदै अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अब अर्थतन्त्रले गति लिन्छ अर्थतन्त्रका सबै सङ्केतहरू सकारात्मकतर्फ उन्मुख छ । उपभोग गर्नेहरूले उपभोग गर्दा हुन्छ ।’’

उहाँले अहिले गठबन्धनको सरकार छ र यो गठबन्धन वाध्यात्मकता परिस्थिति हो भन्नुभयो ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस नेता गुरुराज घिमिरे, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलगायतको कांग्रेसको साङ्गठनिक अवस्था, पार्टीभित्रको एकतालगायतका विषयमा बोल्नुभएको थियो ।