• १८ असार २०८१, मङ्गलबार

फोहोर व्यवस्थापन गर्न अधिकार सम्पन्न सर्वपक्षीय समिति

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ३ गते । झापाको दमक नगरपालिकाले ल्याण्डफिल साइटको व्यवस्थापन सहित फोहोर समस्याको दिगो समाधानका लागि अधिकार सम्पन्न सर्वपक्षीय समिति बनाएको जनाएको छ । एक साताअघि देखि फोहोर नउठ्दा आक्रोश बढेको थियो ।

सोमबार नगरपालिकामा भएको सर्वपक्षीय छलफलले फोहोर समस्याको दिगो समाधानका लागि उपयुक्त ल्याण्डफिल साइड खोज्न र फोहोर समस्या समाधानका लागि नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएको हो ।

सार्वजनिक निजी साझेदारीमा फोहोर व्यवस्थापन हुँदै आएकोमा ल्याण्डफिलको अभावका कारण फोहोर नउठेकोप्रति राजनीतिक दल तथा सामाजिक अगुवाहरूले विरोध जनाउँदै आएका थिए ।

नगर प्रमुख थापाका अनुसार सर्वपक्षीय अधिकार सम्पन्न समिति बनिसकेको र समस्या समाधान चाँडै गरिनेछ । तत्काल यसभन्दा अघि फोहोर व्यवस्थापन गरिँदै आएको दमकको हम्सेदुम्से वन क्षेत्रमा नै फोहोरको व्यवस्थापन सुरु गरिने जनाइएको छ ।

सर्वपक्षीय छलफलमा सामुदायिक वनलाई बोलाई पनि कोही पनि उपस्थिति नभएको बताइएकाे छ । पटक पटक यस विषयमा कुरा गर्नका लागि सामुदायिक वनलाई पत्राचार गर्दा पनि चासो नदिएपछि समस्या भएको छ, नगरपालिका श्रोतले भन्यो ।

दमकमा दैनिक रूपमा १५ टनभन्दा बढी फोहोर सङ्कलन हुँदै आएको छ । कुहिने फोहोरको भन्दा बढी नकुहिने फोहोरको समस्या रहेको जनाइएको छ । यसभन्दा अघि नगरपालिकाले तोकेको ल्याण्डफिल साइट भरिएपछि फोहोर फ्याल्न समस्या भएको नगरपालिकाको भनाई छ ।

सार्वजनिक निजी साझेदारीमा फोहोर सङ्कलनको जिम्मा लिएको नेक्स्ट इरा इनर्जि प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार नगरपालिकाले ल्याफिल साइट तोक्नसाथ फोहोर उठ्न सुरु गर्छ ।