धनगढी समाचारदाता
धनगढी, पुस ३ गते । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा अझै सुरसार हुन सकेको छैन । प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन । प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन ।
सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उहाँले बैठक पनि निश्चित भई नसकेको जानकारी दिनुभयो । हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ, उहाँले थप्नुभयो ।
एउटा अधिवेशन सकिएको छ महिनाभित्रै भने अर्को अधिवेशन सुरु गरिहाल्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुन निर्माणको सवालमा सरकार सुस्त देखिएकाले प्रदेश सभालाई व्यस्त बनाउनतिर सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ ।
एकवर्षे कार्यकाल व्यतीत गरिसकेको प्रदेश सरकारले नयाँ कानुन बनाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पूर्णा जोशीले बाहिरबाट हेर्दा कानुन निर्माणको सवालमा सुदूरपश्चिम सरकार सुस्त जस्तो देखिएको बताउनुभयो । यसअघिको प्रदेश सरकारले सङ्घीयताको जग बसाल्ने क्रममा विभिन्न चुनौती भए पनि एक वर्षमा धेरै कानुन बनाएको उहाँले स्मरण गर्नुभयो । प्रदेश सरकारले २०७५ सालमा १६ वटा कानुन निर्माण गरेको थियो ।
निवर्तमान सभामुख अर्जुनबहादुर थापाले पनि वर्तमान प्रदेश सरकारप्रति लक्षित गर्दै पहिलेको र अहिलेको प्रदेश सरकारले एक वर्षमा गरेको कामको तुलनात्मक समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
सत्तारूढ दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पुसको अन्तिमतिरबाट प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो ।