लीलाधर वली
घोराही, पुस ३ गते । दाङमा करिब दुई हजार घरमा टिनको छाना लगाइएको छ । खरको छानो हटाउने सरकारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा दुई हजार छ सय ८२ घरमा टिनको छाना लगाइएको हो ।
सङ्घीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाइएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ बाट सो कार्यक्रम लागु भएको हो । दाङ जिल्लामा भने आर्थिक वर्ष २०७७/७८ बाट खरको छानो हटाइटिन लगाउन सुरु गरिएको थियो । यस कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकामा ६३१ र तुलसीपुर उपमहानगरपालिकामा ५५० घरको छानामा टिन लगाइएको छ । त्यसै गरी लमही नगरपालिकामा २२०, राप्ती गाउँपालिकामा १६४, राजपुर गाउँपालिकामा १३२, गढवा गाउँपालिकामा १८७, बङ्गलाचुली गाउँपालिकामा ३२४, दङ्गीशरण गाउँपालिकामा १५२, शान्तिनगर गाउँपालिकामा १६१ र बबई गाउँपालिकामा १६१ घरमा टिन लगाइएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख खड्गबहादुर चौधरीका अनुसार टिनको छाना लगाउन १३ हजार ४८७ घर स्वीकृत भएका छन् । अहिलेसम्म दुई हजार बढी घरमा टिन लगाइसकेको छ । सुरुमा छानाका लागि प्रतिघर ५० हजारका दरले रकम प्रदान गरिएको भए पनि अघिल्लो आर्थिक वर्षबाट ७५ हजार प्रदान गरिएको उहाँले बताउनुभएको छ । रकम सम्बन्धित व्यक्तिको खातामा पठाउने गरिन्छ । पहिलो किस्तामा ६० प्रतिशत र दोस्रो किस्तामा बाँकी ४० प्रतिशत प्रदान गर्ने गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै प्युठानमा पनि एक हजार ७० घरमा टिनको छानो लगाइएको छ । प्युठान नगरपालिकामा १८८, स्वर्गद्वारी नगरपालिकामा ११४, गौमुखी गाउँपालिकामा ३२, माण्डवी गाउँपालिकामा ६१, सरुमारानी गाउँपालिकामा ११९ वटा घरमा टिनको छानो लगाएको आयोजनाले जनाएको छ । मल्मरानी गाउँपालिकामा १०६, नौबहिनी गाउँपालिकामा १४० वटा, झिम्रुक गाउँपालिकामा १०९ र ऐरावती गाउँपालिकामा २०१ घरमा टिनको छानो लगाइएको कार्यालय प्रमुख चौधरीले बताउनुभएको छ । त्यसै गरी रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा २०२, भुमे गाउँपालिकामा २३३ र सिस्ने गाउँपालिकामा २७७ वटा घरमा टिन लगाइएको छ । रोल्पामा एक हजार ६४६ वटा घरमा टिनको छानो लगाइएको छ ।