• १८ असार २०८१, मङ्गलबार

अस्पताललाई अनुमतिउपर छानबिन

blog

विराटनगर समाचारदाता 

विराटनगर, पुस ३ गते । कानुनी मापदण्डविपरीत अस्पतालको क्षमता वृद्धि गर्ने अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । विराटनगर अस्पताल चोकमा ५० श-याको अस्पतालको स्तरोन्नति गरेर १०० श-या बनाउन अनुमति दिँदा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अख्तियारले अनुसन्धान गर्न थालेको हो  । 

कोशी अस्पतालनजिकै केही वर्षअगाडिदेखि ५० श-यामा सञ्चालन हुँदै आएको गोल्डेन अस्पताल स्थापनादेखि विवादमा पर्दै आएको थियो । सुरुवातमा पनि मापदण्डविपरीत अनुमति लिएर अस्पताल चलाएको भन्ने विवाद कायम रहेकै बेला दोब्बर क्षमतामा स्तरोन्नति गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षअगाडि अनुमति दिएको पाइएको हो । 

साँघुरो संरचना भएको भाडाको घरमा अस्पताल चलिरहेकोमा अनुमति लिने बेलामा गोल्डेनले आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । पुरानै भवनमा श-या थप गरेर अस्पताल सञ्चालन गरेपछि विवाद बाहिरिएको हो । नयाँ भवनमा एक सय श-याको अस्पताल चलाउने प्रतिबद्धतासहित पूर्वाधार अभाव हुँदाहुँदै पनि मन्त्रालयले शøया थप गर्ने अनुमति दिएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवको मन्त्रीस्तरीय निर्णयबाट उक्त अस्पताललाई स्तरोन्नति अनुमति दिँदा मन्त्रालयका कर्मचारीले विरोध जनाएका थिए । त्यसबेला मन्त्री र कर्मचारीबिच विवादसमेत भएको बताइएको छ । 

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार एक सय शøयाको अस्पताल सञ्चालन गर्न आफ्नै भवन अनिवार्य हुनुपर्ने व्यवस्था छ । एक वर्षअगाडि नै एक सय श-याको अस्पताल सञ्चालनको अनुमति पाएको अस्पतालले विराटनगर ११ मा आफ्नै भवन निर्माण गरिरहेको जनाएको छ । भवन तत्काल निर्माण सम्पन्न हुने सम्भावना न्यून छ । 

अस्पताल स्तरोन्नतिका लागि २०७७ चैत २८ गते स्वास्थ्य मन्त्रालयमा स्तरोन्नतिको आवेदन दिँदा गोल्डेन अस्पतालले १० महिनाभित्र आफ्नो भवन बनाइसक्ने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा मन्त्रालयले २०७९ मङ्सिर २ गते एक सय श-याको अस्पताल सञ्चालन गर्ने अनुमति दिएको हो । नयाँ भवन निर्माणाधीन रहेको भए पनि सञ्चालक सनातन मण्डलले अस्पताल नयाँ भवनमा सरिसकेको दाबी गर्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा अस्पताल स्तरोन्नतिका विषयमा उजुरी परेपछि अनुसन्धान अगाडि बढाएको इटहरीस्थित आयोगको कार्यालय प्रमुख सुरेश न्यौपानेले बताउनुभयो । उहाँले अनुसन्धान जारी रहेकाले त्यस विषयमा थप बोल्न उपयुक्त नहुने बताउनुभयो । 

अख्तियारले अनुसन्धान सुरु गरेपछि कोशी प्रदेश सरकारले पनि समिति बनाएर छानबिन अगाडि बढाएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकको नेतृत्वमा तीन सदस्य समिति बनाएर छानबिन गरिरहेको जनाएको छ । 

तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवले कानुनी प्रव्रिmया पूरा गरेर अस्पताल सञ्चालन अनुमति दिएको बताउनुभयो । उहाँले अनुमति माग गर्दा नयाँ भवन बनाएर अस्पताल सञ्चालन गर्ने भन्ने उल्लेख भएको र सोही प्रतिबद्धतामा आधारित भएर सञ्चालन अनुमति दिएको भन्दै प्रतिबद्धताविपरीत कार्य गरेको भए अस्पताल स्वयम् जवाफदेही हुनुपर्ने बताउनुभयो ।