• १८ असार २०८१, मङ्गलबार

विधि र प्रक्रियाको विरुद्धमा उत्रनु बेइमानी हो : नेता पोखरेल

blog

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरु ।

गोरखापत्र अनलाइन

झापा, पुस २ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढङ्गले आफैँले प्रदेशको नाम कोशी राख्नमा सहयोग गरी एमालेलाई आरोपित गरेर आक्रमणमा उत्रनु बेइमानी भएको बताउनुभयो ।

झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीसँग उहाँले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले उभिने चेतावनी समेत दिनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ? कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्नेखालको छ, यसमा सरकार गम्भीर बन्नुपर्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘मधेस प्रदेशको बारेमा एमालेका फरक दृष्टिकोण थियो । हामीले मिथिला वा केही राख्नुपर्छ भनेका थियौँ । तर प्रक्रियाबाट टुङ्गो भयो, हामीले स्विकारेर अघि बढ्यो ।  अब त्यसमा हामीले यो भएन भनेर वितण्डा गर्न मिल्छ र ? प्रक्रियाबाट सहभागी भएर भोट हालेर टुङ्ग्याएको विषयप्रति फेरि यस्तो र त्यस्तो भन्न मिल्छ ?’ 

मारकाटमा उत्रेर कुनै पनि खालको समस्याको समाधान नहुने उहाँको भनाइ छ । यस्ता गतिविधिको एमाले विरुद्धमा उभिने उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई सङ्कटबाट निकास दिन समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरेको बताउनुभयो ।