अविनाश चौधरी
धनगढी, पुस २ गते । स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका चौधरी र धनगढी उपमहानगरपालिका –१ की अञ्जली नेपालीको हातबाट जुस पिएर उहाँले अनसन तोड्नु भएको हो । डा. केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थाल्नु भएको थियो ।
अनसन तोड्दै उहाँले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उहाँले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो ।
“मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भन्नुभयो, “यसका लागि म लडिरहनेछु । कोही कसैसँग डराउने वाला छैन ।”
अनसन तोड्नु भएका डा. केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिने उहाँका सहयोगी डा. अमृत जैशीले जानकारी दिनुभयो ।