• २१ असार २०८१, शुक्रबार

राजमार्गमै लम्पसार परे सर्लाहीका उखु किसान

blog

जनार्जन खत्री

सर्लाही, पुस २ गते । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व–पश्चिम राजमार्गमा लम्पसार परेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा लम्पसार परेर सुत्दै विरोध जनाएका हुन् । 

विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीलगायत किसान अगुवाहरूको उपस्थिति थियो । 

सोमबार दिउँसो २ बजेदेखि आधा घण्टा राजमार्गमा लम्पसार परेर विरोध प्रदर्शनको कार्यक्रम गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । नेपाल उखु उत्पादक महासङ्घ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायत उखु किसान संम्बद्ध सङ्घ–सङ्गठनको संयुक्त आयोजनामा केही दिनदेखि हरिवनमा विरोध प्रदर्शन भइरहेको छ ।

सरकारले उखु किसानको गत वर्षको बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्ने पहल गरेपनि सर्लाहीका उखु किसानले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसानको खातामा रकम नआइन्जेल र यो सिजनका लागि मूल्य कायम नहुन्जेल आन्दोलन जारी रहने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । 

यसैबिच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गर्नुभएको छ । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्याशी समेत रहेका इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गर्नुभएको हो ।