• १२ मंसिर २०८१, बुधबार

अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य सेवा

blog

शिविरमा स्वास्थ्य सेवा लिन आउनुभएका नागरिक । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस २ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका दुईसय २४ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

गाउँपालिकाको वडा ४ मा रहेको राप्तीसोनारी अस्पताल बैजापुरमा आइतबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसम्बन्धी २ सय १६ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापीलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा आँखासम्बन्धी ७४ जना, सामान्य चिकित्सासम्बन्धिका ६७ जना, अडियोग्रामसम्बन्धी ८ जना, फिजियोथेरापीसम्बन्धी २९ जना र नाक, कान, घाँटीसम्बन्धी ४६ जना गरी कुल २ सय १६ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगन्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीका लागि निःशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।