• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति रनिङ शिल्ड पुस ८ देखि सञ्चालन हुने

blog

रनिङ शिल्ड प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइँदै ।

मीना कँडेल

कावासोती, पुस २ गते । नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पुस ८ गतेबाट सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ । 

छैटाैं कावासोती नगरस्तरीय प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म हुनेछ ।  जिल्लास्तरीय प्रतियोगिता पुस ८ गतेदेखि १० गतेसम्म हुनेछ । तीन दिनसम्म चल्ने पालिकास्तरीय प्रतियोगिताबाट प्रथम र द्वितीय हुने खेलाडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनाेट हुनेछन् । 

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा दौड, रिले दौड, कपर्दी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँतेतर्फका खेलहरू हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो । 

पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा करिब आठसय विद्यार्थीको सहभागिता रहने उहाँले बताउनुभयो । कावासोती –१२ का अध्यक्ष तथा खेलकुद समिति संयोजक ध्रुव खनालले आफ्नो वडाको विद्यालयमा शान्ति माविले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्न पाएको भन्दै गौरवको विषय भएको बताउनुभयो । पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त रकम पालिका, विभिन्न सङ्घ संस्था र भूतपूर्व विद्यार्थीको सहयोगबाट जुटिरहेको जानकारी दिनुभयो । प्रवक्ता कृष्ण पाण्डेले सबैसँगको सहकार्यमा नै जिल्लास्तरीय प्रतियोगितालाई सफल बनाउन सकिने बताउनुभयो ।