• १३ असार २०८१, बिहिबार

कालीगण्डकी ७ ले जित्यो अध्यक्ष कपको उपाधी

blog

अध्यक्ष कपको उपाधी प्रदान गर्नुहुँदै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, पुस २ गते ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।

कालीगण्डकीको मिर्मी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उपाधी वडा नं.७ ले जितेको छ । छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक जित्दै वडा नं.७ पहिलो भएको हो । तीन स्वर्ण, चार रजत र चार कास्य गरी ११ पदक जित्दै वडा नं.५ दोस्रो भएको छ । यस्तै, तीन स्वर्ण, तीन रजत र एक कास्य गरी सात पदक जित्दै वडा नं.२ तेस्रो भएको छ ।

पालिकाले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाइएको थियो । खेलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नु भएको थियो ।