• १३ असोज २०८१, आइतबार

युडब्लुएसद्वारा १८ विद्यालय भवन निर्माण

blog

युडब्लुएस नेपालले निर्माण गरेको धुर्कोटको हाडहाडेमा रहेको जनज्योती आधारभूत विद्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), पुस १ गते । युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ । 

गुणस्तरीय शिक्षा प्रवर्धनमा काम गर्दैआएको परियोजनाले जिल्लाको रेसुङगा नगरपालिका ६ मा एक, मुसिकोट नगरपालिकामा २, मादाने गाउँपालिकामा ३, धुर्कोटमा ४, मालिकामा ५ र इश्मा गाउँपालिकामा ३ गरी १८ वटा विद्यालय भवन निर्माण गरिएको संस्थाका बरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयो । 

एउटा विद्यालयको भवन निर्माणमा ३५ देखि ४५ लाखसम्मको लागत लागेको उहाँको भनाइ छ । २०७२ सालमा स्थापना भएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७२ वटा विद्यालय भवनहरु निर्माण गरिसकेको सिग्देलले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रवर्धनमा युडब्लुएस र स्थानीय तहको भूमिकाबारे समिक्षात्मक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडी परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दैआएको छ । विद्यालयमा विद्यार्थीले बिचैमा कक्षा छाड्ने दरलाई कम गर्न परियोजनाले काम गरेको उहाँको भनाइ छ ।  

बिद्यार्थीले बिचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको र ९८ प्रतिशत सफल भएको परियोजनाका प्रतिनिधिले जनाएका छन् । परियोजनाले पाँच वर्षसम्म विद्यालय सञ्चालन गर्ने र त्यसपश्चात स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

आधारभूत तहमा शिक्षाको जग राम्रो बसाउन आफूहरुले हरदम प्रयास गरेको सिनियर एजुकेसन म्यानेजर नतासा काफ्लेले बताउनुभयो । १८ वटा बिद्यालयका एक हजार ३४१ बिद्यार्थीलाई निरन्तर शिक्षामा जोड्न आफूहरु सफल भएको काफलेको भनाइ छ । 

छ वटा स्थानीय तहमा यो परियोजनाले काम गरेको र अन्य स्थानीय तहमा पनि मागको आधारमा कार्यक्रमहरु गर्दैजाने परियोजनाका प्रतिनिधिले जनाएका छन् ।