• ११ मंसिर २०८१, मङ्गलबार

अलबिदा भिक्टोरिया !

blog

क्यानडाको दक्षिण पश्चिम कुनामा प्रशान्त महासागरको ठुलो भँगालो ठोकिने पानीको किनारामा अवस्थित भिक्टोरिया सहरमा एक रात दुई दिन बिताउने गरी निर्मला र म अनि छोरी मृदुसँग संयुक्त राज्य अमेरिकाको पश्चिम उत्तर कुनाको प्रशान्त महासागरकै पानीको किनारामा अवस्थित सियाटल सहरबाट सानो जहाज (फेरि) चढेर २०२३ जुलाई ३१ मा बिहानै हिँड्यौँ ।

सियाटल अमेरिकाको वासिङ्टन राज्यको राजधानी सहर हो भने उता भिक्टोरिया पनि क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको राजधानी रहेछ । यसरी सियाटलबाट भिक्टोरिया जाने जहाजमा बसेका हामीलाई जहाजको माथि डेकमा जान सक्ने सूचना प्राप्त भयो । माथिल्लो तलामा अलि बढी पैसा तिरेका यात्रु अलि आरामदायी सिटमा थिए भने तल्लो तलामा अलि कम पैसाका टिकट लिएका हामी थियौँ तर डेक खुलेपछि तल र माथिको अन्तर रहेन । हामी धेरै यात्री बाहिर डेकमा पुग्यौँ । समुद्री हावाको चिसो खाँदै हावाले उडाउला जस्तो थितिमा पनि समुद्रतिर र पारि पाखाका पहाड आउने गरी फोटो खिच्ने होडबाजी गरिरह्यौँ  । प्रशान्त महासागरको पानीमाथि यात्रा गर्दै दायाँबायाँका मनोरम पहाडहरू र उत्तरतिरका अझ ठुला हिमाच्छादित पहाडहरू हेर्दा मनै रमायो, तनै रमायो । हामी यी पहाडभन्दा अग्ला पर्वत शृङ्खलामा बस्ने, घुम्ने मानिसलाई यी पहाडहरूले किन लोभ्याए भने यहाँ समुद्र र पहाड एकै ठाउँमा पैँठेजोरी खेले जस्तो लाग्यो । मलाई धेरै वर्ष पहिले क्यालिफोर्निया भ्रमणका लागि निम्ता गर्ने साथीले भने जस्तै यहाँ समुद्रमाथि नेपाल देख्न पाइने रहेछ । त्यसैले डेकमा उभिएर निसास्सिने खालको हावाको सामना गर्दै पानी र पहाडसित आफू पनि देखिनका लागि फोटो खिच्ने होडबाजी हुने रहेछ ।  

हामी तीन जनाको फोटो खिचिदिने इच्छा गरेर कफी समाइरहेकी एउटी सुन्दर महिलाले कफी भुइँमा राखेर मृदुसँग मोबाइल मागिन् र हाम्रो फोटो खिचिदिन तयार भइन् । अग्ली, गोरी, रातोपिरो अनुहारकी ती महिलाको अगाडि हाम्रो परिवार थियो । तिनले मुस्कुराएर हामीलाई तयार हुन भनिन् । हामी पनि मुस्कुरायौँ र प्रशान्त महासागरको बिचमा हाम्रो फोटो खिचियो । निर्मला तिनीसँगै उभिन गइन् । युरोपेली, अमेरिकी या अन्य कुनै टाढाकै देशकी होलिन् भन्ने अनुमान गरेका थियौँ, हाम्रै छिमेकी पञ्जाबकी महिला पो रहिछन् । तिनी क्यानडाको भिक्टोरियामा नै बस्ने नर्स रहिछन् । ५५ वर्षीया दुई छोरीकी ती एकल आमा रहिछन् । ‘कतिले विवाह गर्न भनेका थिए, गरिनँ । मेरा दुई छोरी छन् । तिनैमा चित्त बुझाएर बसेकी छु’, तिनले भनिन् । कस्तो आकर्षक अनुहार, कति सव्रिmय देखिने ती महिला । धेरै भाग्यमानी हुनुपर्ने अड्कल काटिएको थियो तर जे देखिन्छ त्यो नै सही हुने रहेनछ । पछि म फेरि माथि डेकमा जाने बेलामा तिनी माथिल्लो तलाको आरामदायी सिटमा बसेकी देखिइन् तर अहिले तिनको अनुहार त्यति उज्यालो देखिएन । हुन सक्छ उनले एक्लोपन अनुभव गरिन् कि !

अब डेकमा अर्कै एक जोडी देखिए । जो भर्खरका युवा थिए । उनीहरू एकले अर्कोको फोटो खिचिदिन्थे । हामी जस्तै वृद्धवृद्धा पनि रमाइला दृश्य हेर्न उभिइरहेका थिए । यसरी प्राकृतिक सुन्दरताले किशोर, युवा, प्रौढ सबैलाई आकर्षित गरिरहेको छ । भित्री पीडालाई दबाएर अरूसँग रमाउने वातावरण सिर्जना गर्न पनि प्रकृति नै समर्थ हुन्छ । समय र प्रकृति दुई कुराले मानिसका पीडा बिर्साइदिँदै जीवन जिउन मद्दत गर्छन् । समयले नै सबैका जवानी खिचिदिएर वृद्धावस्थाको सँघारमाा पनि पु¥याउँछ । त्यसैले समय र प्रकृतिको सङ्गमबाट लाभ लिँदै हाम्रो पारिवारिक यात्रा पनि क्यानडाको भिक्टोरिया भित्रियो ।

भिक्टोरिया धेरै वर्षदेखि जाने योजना बनाएको ठाउँ हुँदा मलाई यो ठाउँ देख्नेबित्तिकै कता कता आफ्नो मनमा बसेको प्यारो ठाउँ जस्तो लाग्यो । अध्यागमनका लागि लामो लाइनमा बसेर क्यानेडियाली अधिकृतको सामु राहदानी बुझाउँदा अति मिठो मुस्कान साथ तिनले राहदानीमा छाप लगाइदिए र भिक्टोरिया बसाइको मजा लिनु होला भन्दै हाँसेर पासपोर्ट दिए । हामी जहाजबाट बाहिरियौँ र भिक्टोरिया भित्रियौँ । भिक्टोरिया बेलायती तौरतरिकाको निकै ठुलो सहर रहेछ । यो त ब्रिटिस कोलम्बिया राज्यको राजधानी रहेछ । यहाँ बेलायती झन्डा यत्रतत्र देखिने रहेछ । साथै बेलायती महारानीका गुणगान पनि सुन्न पाइने रहेछ । बल्ल थाहा भयो १६० वर्ष पहिलेकी बेलायती महारानी भिक्टोरियाको नामबाट यो सहरको नामकरण गरिएको रहेछ । संसद् भवन, सरकारी भवन आदि महìवपूर्ण ठाउँ भएकाले थाहा भयो यो त राजधानी सहर रहेछ । हामी पहिले संसद् भवनमा नै गयौँ । होटलको उद्यान भ्रमण गरेर चार बजेतिर पहिले जहाजबाट नै बुकिङ गरेको चियापानका लागि ‘अफ्टरनुन् टि’ भनेर ठुलो बोर्ड राखेको पेन्ड्रे रेष्टुराँमा प्रवेश ग¥यौँ । अमेरिकामा सबैजसो ठाउँमा कफी खाने चलन हुन्छ तर यहाँ बेलायती तरिकाको चिया खुवाउने चलन रहेछ । तीन किसिमका चिया र विभिन्न प्रकारका बिस्कुट पनि ल्याइए । अति नै रमाइलो तरिकाले चियाको तृष्णा मेटियो र पहिलेदेखि बुक गरिएको बस्ने ठाउँमा गइयो । त्योभन्दा पहिले अर्थात् ११ बजे भिक्टोरिया आएपछि हार्वर क्षेत्र अर्थात् पानीको वरिपरि रहेका रेष्टुराँमध्ये एउटामा हामीले दिउँसोको भोजन गरेका थियौँ भने उद्यान र संसद् भवनसँगै चाइना टाउन पनि घुमिसकेका थियौँ । त्यसैले बेलुकीपख हामी जोन स्ट्रिटमा रहेको आफूले बुक गरेको होटलको कोठामा गयौँ ।

अर्को दिन बिहान १० बजे नै सहरको बिचमा रहेको सरकारी भवन हेर्न गयौँ । बेलायती महारानीको प्रतिनिधिको रूपमा ब्रिटिस कोलम्बियाका लेफ्टिनेन्ट गभर्नर हुने रहेछन् । कैयौँ एकड जमिन उद्यानको रूपमा रहेको यस भवनमा ती गभर्नर बस्ने रहेछन् । अहिले महिला मार्गारेट जेनेथ लेफ्टिनेन्ट गभर्नर रहिछन् । महारानी, महाराजको प्रतिनिधित्व गर्ने लेफ्टिनेन्ट गभर्नर र जताततै बेलायती झन्डा तथा ब्रिटिस कोलम्बियाको मात्र कुरा देखियो । क्यानडा भन्ने देशको नाम त कताकतै मात्र देखियो । खास सङ्घीयता भनेको त यस्तो पो हुने रहेछ जस्तो पनि लाग्यो । उत्तर अमेरिकी सहरहरू ब्रिटिस कोलम्बियाको भ्यानकुवरबाट ३० मिनेट र वासिङ्टनको सियाटलबाट ४० मिनेटमा हवाईजहाज भिक्टोरिया आइपुग्छन् भन्ने लेखेको देख्ता त क्यानडा र संयुक्त राज्य अमेरिका छुट्टा छुट्टै देश हुन् भन्ने पनि लाग्ने ।

हामी दिउँसो ५ बजे जहाजबाट नै फिर्ता हुनु थियो । अमेरिका प्रवेश गर्ने अध्यागमन त्यहीँबाट नै गर्नुपर्ने हँुदा चाँडै जहाजतिर जाने हिसाबले दिउँसोको खाना खान हार्वर क्षेत्रको रेष्टुराँमा प्रवेश ग¥यौँ । दुई दिन रेष्टुराँमा खाना खाने समयमा देखिएका क्यानेडियाली सेविकाहरूले धेरै प्रभाव पारे र विश्वभरिबाट आएका मानिसहरूको भिडभाड हुने ठाउँमा खाना खाँदा नै अर्कै आनन्द आउने रहेछ । सबै प्यारा भाइबहिनी जस्ता खाना दिने नानीहरू र सँगै बसेर खाइरहेका दाजुभाइ दिदीबहिनीसँग छुट्टिनै गाह्रो जस्तो भएर दुई दिनको भिक्टोरिया बसाइको सम्झना ताजा नै रह्यो । भिक्टोरियाको पानी वरिपरिको हार्वर क्षेत्रले त मोहनी नै लगायो । छोरी मृदु त फेरि आउँछु भन्छिन् तर हामी दूर देशका यात्री, मात्र भन्छौँ अलबिदा भिक्टोरिया !

  

Author

चन्द्रकान्त आचार्य