• १४ मंसिर २०८१, शुक्रबार

फलाम उत्खननका लागि अध्ययन

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, मङ्सिर २४ गते । रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको टिमले भुमे गाउँपालिका–३, झुम्लाबाङमा पत्ता लागेको फलाम खानीको अध्ययन सुरु गर्नुभएको हो । 

भुमे गाउँपालिकाका विभिन्न वडामा यसअघि पत्ता लागेको फलाम खानीको विस्तृत अध्ययन सुरु गरिएको भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । हाल फलाम खानी पत्ता लागेको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन गरिएको स्थानीयको भनाइ छ । त्यतिबेला तामा खानी उत्खनन गर्दा भुमे–२, ३, ४ र ५ का विभिन्न ठाउँमा बनेका ठुल्ठुला खाडल र सुरुङ अहिले पनि रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ती ठाउँमा गत वर्ष फलाम रहे/नरहेको अनुसन्धान गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननका लागि विस्तृत अध्ययन सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “खानी तथा भूगर्भ विभागका अनुसार प्रारम्भिक अध्ययनबाट झुम्लाबाङमा मात्र नेपाललाई नै ५०/६० वर्षसम्म धान्न सक्ने फलाम खानी रहेको पत्ता लागेको छ ।” हरेक वर्ष नेपालले अन्य देशबाट दुई खर्ब रुपियाँ बराबरको फलाम खरिद गर्ने गरेको छ । 

हालसम्म खानी तथा भूगर्भ विभागले तीन पटक अध्ययन गरेका छन् । अबको विस्तृत अध्ययनपछि के कसरी फलाम उत्खनन गर्न सकिने, उत्खननको लागत, फलाम के कति रहेको यकिन परिमाण पत्ता लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । हालसम्मको अध्ययन अनुसार तामा खानी आसपासमा तामाभन्दा फलामको मात्रा बढी रहेको बताइएको छ । 

भुमे गाउँपालिका फलाम र तामा खानीले भरिपूर्ण रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “पत्ता लागेका खानीको तीव्र रूपमा अध्ययन पर्र्नुपर्ने छ । फलाम उत्खननका लागि अध्ययन सुरु गरेका छौँ । उत्खनन गर्न सकेमो सिङ्गो देशको अर्थतन्त्रलाई सुधार गर्नमा महत्वपूर्ण योगदान दिन सकिन्छ ।”