• १५ वैशाख २०८१, शनिबार

आन्दोलनले सिर्जिएका नवविम्ब (कविता)

blog

 म च्यातिदिन्छु किताबका यी पानाहरू 

जसले दिन्छ झुटो बयान

इतिहास निर्माणको ।

आक्रमण, युद्ध, हत्या, छलकपट र षड्यन्त्र

रातै रगतले रङ्गिएका हातहरू


मन सिरिङ्ग हुने घटनाक्रमहरू

घिन लाग्दा काण्डहरू

कठघरामा उभ्याउन लायकका

दोषी अपराधीहरू प्रमाणित हुन्छन् ।

इतिहासलाई बङ्ग्याई टिङ्ग्याई गरिन्छ

कुकृत्यहरूले

नृप, राजा, महाराजाहरूका क्रुरताले

युद्ध सरदारहरूका पाषाण हृदयले

भूगोल खुम्चिन्छ सीमाहरू  

कर्तुतहरूले

घातक हतियारका प्रहारले । 

लुकाएर लुकाउन सकिँदैन फाइलभित्र

हत्यारा हातहरू

अपराधका प्रमाणहरू

उदाङ्गिछन् ऐनामा झैँ छर्लङ्ग

कुकृत्यका विम्बहरू

दिउँसैका बलत्कारहरू ।

इतिहासमा आँधी झैँ उठून्

आन्दोलनहरू

क्रुरतापूर्वक बढारेर लैजाऊन्

घृणित कार्यहरू

कार्यका अवशेषहरू

सिर्जित गरून् नव विम्बहरू ।