काठमाडौँ, मङ्सिर १९ गते । बाल क्लबमा आबद्ध नेतृत्व देश विकासको मूलधारमा आउन सक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । आजबाट काठमाडौँमा सुरुभएको बाल क्लबका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले युवालाई विदेश जानबाट रोक्नका लागि बाल क्लबमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । “बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “देश विकासको मेरुदण्ड दक्ष युवा जनशक्ति हो, त्यो जनशक्ति उत्पादन गर्न सरकारले शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्छ ।”
अहिले पनि बालबालिकामाथि सरकारले पर्याप्त लगानी सर्न सकेको छैन । जलवायु परिवर्तनको क्षतिपूर्ति दिँदा पनि बालबालिकालाई प्राथमिकता दिनेमा उहाँले जोड दिनुभयो । पोषणमा लगानी गर्न पनि जरुरी रहेको भन्दै उहाँले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय बालअधिकार परिषद् उपाध्यक्ष बमबहादुर बानियाँका अनुसार अहिले पनि बालबालिका विभिन्न हिंसाको दुर्व्यवहारका कारण पीडित छन् ।
यस्तै, बाल क्लबमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैँ तयार छ ।” देशले सामाजिक सुरक्षामा लगानी गरिरहेको तर बालबालिकालाई कम प्राथमिकतामा राखेकाले नीतिहरू तर्जुमा गर्दा बालबालिकालाई प्राथमिकतामा राखी काम गर्नसमेत उहाँको अनुरोध छ ।
यसैगरी वर्ल्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजना चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वर्ल्ड भिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरिरहेको बताउनुभयो ।
बालअधिकारकर्मी राजेश शर्माले जलवायु परिवर्तनले बालबालिकामा पारेको असर, बालसहभागिता, युवा उद्यमशीलता, युवाको नागरिक सहभागिता, बालबालिकामाथि हुनसक्ने हिंसा, दुर्व्यवहारलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनले युवाको नेतृत्व विकास, उद्यमशीलताजस्ता विषयमा छलफल गरी काठमाडौँ घोषणा पत्र जारी गर्ने छ । सम्मेलन हरेक वर्ष सङ्घीय तह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्यसमेत रहेको संयोजक एवम् जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
देशभरका १५० जना १८ वर्षसम्म बाल क्लबमा रहेर पासआउट भएका युवाको सहभागिता सम्मेलनमा छ । हाल देशभर तीस हजारभन्दा बढी बाल क्लब छन् । बाल क्लबमा ८० लाखभन्दा बढी बालबालिका आबद्ध रहेको आयोजकले जनाएको छ । जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्वसहित चङ्गा फाउण्डेशन, हामी दाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको छ । १९ देखि २५ वर्षसम्मका युवा कार्यक्रममा सहभागी छन् ।