• १२ मंसिर २०८१, बुधबार

खुल्दै छन् एचआइभी सङ्क्रमित

blog

रेखीराम राना

तानसेन, मङ्सिर १८ गते । पाल्पामा एचआइभी सङ्क्रमित खुलेपछि उपचार गर्न सहज भएको छ । केही वर्षअघिसम्म लुकेर बसेका सङ्क्रमित हिजोआज खुलेर समाजिक काम तथा आफ्नो व्यक्तिगत काममा सक्रिय हुन थालेका छन् ।  

एचआइभी सङ्क्रमित खुलेपछि उनीहरूमा लामो समयसम्म बाँच्ने हौसला मिलेको सङ्क्रमितकै अनुभव छ । सङ्क्रमित खुलेर आउँदा सहज रुपमा उपचार र सहयोग हुने गरेको प्रतिबद्ध सहयोग समूहकी कार्यक्रम संयोजक माला न्यौपानेले बताउनुभयो । सङ्क्रमित खुलेर हिँड्दा उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा समेत बिस्तारै परिवर्तन देखिएको न्यौपानेले बताउनुभयो । 

पाल्पा जिल्लामा हालसम्म ३५२ जना एचआइभी सङ्क्रमित छन् । त्यसमध्य २० जना बालबालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सङ्क्रमितमाथि भेदभाव कम हुँदै गएपछि उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या समेत बढेको अस्पतालको तथ्याङ्क छ । सङ्क्रमण लुकाउनेभन्दा खुलेर उपचारमा आउँदा उनीहरूले सहज रुपमा उपचार पाएको तानसेनस्थित मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखले बताउनुभयो । उहाँका अनुसार गत आवमा मिसन अस्पतालमा छ हजार २७२ जनाको एचआइभी सङ्क्रमण परीक्षण गरेकोमा २६ जना सङ्क्रमित देखिएका छन् । 

एचआइभी सङ्क्रमित ३५२ जनामध्ये ३५१ जनाले एआरटी सेवा लिएको अस्पतालले जनाएको छ । पाल्पामा मिसन अस्पताल र रामपुर अस्पतालले सङ्क्रमितका लागि एआरटी सेवा प्रदान गर्दै आएका छन् । गत वर्ष ३४२ जना सङ्क्रमित रहेकामा यो वर्ष बढेर ३५२ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

सङ्क्रमितको उपचारमा सहजता आउनु, समाजबाट भेदभाव कम हुँदै जानुले सङ्क्रमितको आयु लम्बिएको प्रतिबद्ध सहयोग समूहले जनाएको छ । समाजमा खुलेर विभिन्न मानिससँग सहयोग लिन चाहने व्यक्तिको आत्मबल बढेको छ यसले उनीहरूको आयू समेत लम्बिएको समूहकी अध्यक्ष कालिका थापाले बताउनुभयो ।