• १२ मंसिर २०८१, बुधबार

भेरीमा सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु

blog

विशेषज्ञ सेवा बढाउँदै गएको नेपालगन्जस्थित भेरी अस्पताल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १८ गते । पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एकपछि अर्को गरेर विशेषज्ञ सेवाहरु थप हुनेक्रम जारी छ । 

सर्वसाधारणलाई सस्तो, निःशुल्क र सुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवाहरु थप गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । 

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले पश्चिम क्षेत्रका गरिब विपन्न र कम आय भएका बिरामीको समस्यालाई दृष्टिगत गरेर अस्पतालमा आवश्यक सबै विशेषज्ञ सेवाहरु थप्दै जाने बताउनुभयो । 

अस्पतालले हाल आएर एमसीएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा पनि सुरु गरेको बताउनुभयो । एमसीएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा अन्तर्गत विशेषज्ञ डा कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहनुभएको छ ।

अस्पतालमा सार्वजनिक बिदाको दिन बाहेक हरेक हप्ताको आइतबार, मंगलवार र बिहीबार ओपीडी सेवा सुरु भएको सूचना अधिकारी डा. रिसालले जानकारी दिनुभयो । 

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालले एमसीएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई उपचारमा सहजता भएको बताउनुभयो । 

उहाँले यसअघि उक्त सेवा अस्पतालमा नहुँदा बिरामीले निजी अस्पतालमा गएर मंहगो शुल्क तिरेर सेवा लिनुपरेको जनाउँदै ग्यास्ट्रो सर्जरीसम्बन्धी सेवा लिने बिरामीलाई अब सहज भएको बताउनुभयो ।

भेरी अस्पतालले अहिले यो सेवालगायत विभिन्न प्रकारका विशेषज्ञ सेवाहरु सुरु गरिसकेको अस्पताल विकास समितिले जनाएको छ । भेरी अस्पतालमा उपचारका लागि पश्चिम नेपालका दुई लाखभन्दा बढी विरामी हरेक वर्ष आउनेगरेका छन् । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बिरामी रेफर भएर यहाँ आउनेगरेकाले भेरी अस्पताललाई रेफरल अस्पताल मानिन्छ ।