• २ असार २०८१, आइतबार

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा साढे दुई करोड कारोबार

blog

भृकुटीमण्डप सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सामान हेर्दै ग्राहक ।

काठमाडौं, मङ्सिर १८ गते । ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार (आज) सम्पन्न पाँच दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् ।

ग्राहकलाई लक्षित गरेर नेपाल, बङ्गलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासङ्घका सहायक निर्देशक परशुराम नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘इन्डियाको कन्जुमर फियरभन्दा पनि पावर सो थियो । चाईनाको मेशिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरूले डाइरेक्टर सेल भन्दा पनि नेटवर्किङको हिसाबले आए । करिब ६० वटा नेपाली स्टल अनि इन्डियन, बङ्गलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाहिँ बिक्री गर्ने स्टलहरू भएको हिसाबले करिब साढे दुई करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’’

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरूको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवर्द्धनको हिसाबले भने मेला फलदायी रहेको महासङ्घको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बङ्गलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, ज्याकेटलगायतका सामग्रीहरूमा ग्राहकहरूले चासो दिएका थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गत मङ्सिर १४ गते उद्घाटन गर्नुभएको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तानसहित करिब दुई सय वटा स्टल राखिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ ।