• २ असार २०८१, आइतबार

कहिले बन्छ तालबाराही मन्दिर ?

blog

मन्दिर भत्काएपछि पुनर्निर्माणका लागि तयार गरिएको तालबाराहीको मुख्य मन्दिर रहेको क्षेत्र । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर १८ गते । 
पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।

योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको महाभूकम्पका कारण तीन इन्च दक्षिण ढल्किएको मन्दिर चैतमा भत्काइएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातत्त्व विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजना र निर्माणको काम अहिले रोकिएको छ ।

पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा गरिँदै आएको छ । मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुने गरेका छन् । मन्दिर दर्शन गर्न आइपुगेकी मोरङकी शान्ता पराजुलीले हवनकुण्डमा पूजा गर्दा नमिठो लागेको सुनाउनुभयो । “भूकम्पमा क्षति भएको भन्ने सुनेँ । आठ वर्षमा पनि पुनर्निर्माण नसकिएको देख्दा मन अमिलो भयो,” उहाँ भन्नुहुन्छ ।

यो मन्दिर विक्रम संवत् १४४७ मा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ । चैतमा भत्काइएको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण भएको थियो । व्यवस्थापन समितिले बनाएको गुरुयोजनामा मन्दिरको चार रोपनी क्षेत्रमा अन्डरग्राउन्डसहितको मुख्य मन्दिर बनाउने उल्लेख छ । सो अन्डरग्राउन्डमा फूलका पसल राख्ने योजना थियो । प्रा.डा. भरतराज पहारी नेतृत्वको सात सदस्यीय टोलीले गुरुयोजना बनाएको थियो ।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग समितिले पुरातत्त्वको स्वीकृति बिना अनुपयुक्त गुरुयोजना बनाएको बताउनुहुन्छ । तालबाराही मन्दिर परम्परागत स्वरूपमै निर्माण गर्नुपर्ने विभागले प्रष्ट पारेको छ । “शिलान्यासमा जाँदा परम्परागत ढाँचामा ठुलो परिवर्तन हुने देखिएपछि हामीले काम रोक्न निर्देशन दिएका छौँ,  उहाँ भन्नुहुन्छ ।

पुनर्निर्माण सकिनुपर्ने समयसम्म कामै सुरु नभएको मन्दिरको निर्माण यही महिना सुरु हुने समितिका अध्यक्ष हिम्मतबहादुर कुँवर दाबी गर्नुहुन्छ । समितिको गुरुयोजना अनुरूपका काम रोकी पुरानै स्वरूपमा मङ्सिरभित्रै निर्माण थालिने उहाँको भनाइ छ ।

मन्दिर पुरानो शैलीमा निर्माणका लागि गत वर्ष नै एक करोड ४४ लाख लाग्ने लागत स्टिमेट गरिएको थियो । अब सोही लागत स्टिमेट अनुसार मन्दिर निर्माण गरिने भएको छ । अब प्राविधिक टोली र पुरातत्वका इन्जिनियरहरूसँग समन्वय गरी काम गरिने अध्यक्ष कुँवर बताउनुहुन्छ । पुरातत्त्वले मन्दिरभित्र केही परिवर्तन गरे पनि बाहिर पहिलाकै मन्दिरको जस्तो संरचना बनाउन भनेको छ । मन्दिरका झ्याल, ढोका, टुँडाल, मूर्तिहरू पहिलाका जस्तै राखिने समितिले जनाएको छ । 

फेवातालको मध्य भागमा रहेको तालबाराही मन्दिर पर्यटकीय केन्द्र बनेको छ । वि.सं २०३८ सालमा पोखरा नगर विकास योजनाबाट फेवा बाँध भत्किएपछि मन्दिरको उत्तर पश्चिमतर्फ माटो भरेर मन्दिरको क्षेत्रफल विस्तार गरिएको थियो । फेवातालमा अहिले सात सयभन्दा बढी डुङा छन् । मन्दिर आउनेजाने, ताल सयर र ताल वारपारका लागि ढुङ्गाको प्रयोग हुने गरेको छ ।