तुलसीपुर, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले एलोपेथिकभन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई व्यवस्थित बनाउनु पर्ने बताउनुभयो ।
“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उहाँले भन्नुभयो, “यसलाई समय सापेक्ष बनाउन आवश्यक छ ।”
साथै उक्त अस्पताललाई ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाइ छ । त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्नतर्फ आफू लागिरहेको उहाँले बताउनुभयो ।
हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरू बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नि कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।