• ८ मंसिर २०८१, शनिबार

एक योगीको रहस्य वर्णन

blog

मानिस रहस्यहरू आफूभित्रै साँची बस्छन् । सङ्कोच, गोपनीयता अनि संवेदनशीलताका कारण उपयुक्त समय नआउँदासम्म ‘सेफ्टी भल्ट’ का खजानासरी ती रहस्य मस्तिष्कको फोल्डरमा सुरक्षित रहन्छन् । तर संशयको ढोका हुँदै रहस्य जब बाहिरिन्छ, त्यसले सुन्नेहरूलाई तरङ्गित अनि रोमाञ्चित गर्दछ । समान्य भोगाइका रहस्यहरू दसी–प्रमाणको कसीमा जाँचिन्छ । तर कतिपय रहस्य यस्ता पनि हुन्छन्, जसलाई दुई जोड दुई चार भने जसरी प्रमाणित गर्न सकिँदैन । तिनको आधिकारिकता रहस्योद्घाटन गर्नेको व्यक्तित्वको विशालता र सुन्नेको उदारतामा निर्भर रहन्छ । 

ओशो सन्न्यासी स्वामी आनन्द अरुण यस्तै एक रहस्यद्रष्टा हुन् । बाचाल प्रवचक स्वामी अरुण आफ्ना श्रुतिमधुर प्रवचनमा आफ्ना गुरु ओशो रजनीशदेखि सन्त, तपस्वीहरूका अनेकौँ किस्सा पस्किरहेका हुन्छन् । लौकिकहरूका बिच उनी अलौकिक रहस्यहरूको कुरा गरिरहेका हुन्छन् । आफ्नो वर्तमान जीवनका अनुभूति मात्र नभएर पूर्वजन्मका रहस्य बताइरहेका हुन्छन् । 

ओशोका दर्शन, सन्तहरूका जीवन र गाथाउपर प्रवचन र शृङ्खलाबद्ध पुस्तक लेख्दै आएका स्वामी अरुणले पछिल्लो पटक रहस्यहरूको पेटारो ‘मिस्टिक्स एन्ड मिराकल’ पुस्तकमार्फत आफूभित्र मात्र साच्दै आएका अनेकौँ रहस्य सार्वजनिक गरेका छन् । 

पुस्तकको शीर्षकबाट सहजै अनुमान गर्न सकिन्छ, पुस्तकले समेटेको विषय । ‘मिस्टिक्स’ अर्थात् साधु–सन्त, मनिषी, ध्यानी आदि र ‘मिराकल्स’ अर्थात् चमत्कारहरू । सन्त–तपस्वी र ज्ञानोदीप्त मनिषीहरूको जीवन यथार्थमा रहस्यहरूकै फेहरिस्त हो । परमहंश योगान्द रचित ‘अटोबायोग्राफी अफ अ योगी’, बाबा रामदास (रिचर्ड अल्पर्ट) को ‘मिराकल अफ लभ ः स्टोरिज अबाउट निम करोली बाबा’, शिवपुरी बाबामाथि जोन बेनेटको पुस्तक ‘लङ पिल्ग्रिमेज’ पढ्दा सन्त र रहस्य एकै सिक्काका दुई पाटा अनुभूत गर्न सकिन्छ । आध्यात्म र रहस्य यस्तो विधा हो, जसको उचाइ आकाश र गहिराइ समुद्र झैँ प्रतीत हुन्छ । तर्क र ‘फ्याक्ट चेकिङ’ भन्दा पर गुह्य (इसोटेरिक) र रहस्य व्यक्ति स्वयंले आफ्नो हृदयको अतल गहिराइमा अनुभूत गर्न सक्छ । ‘मिस्टिक्स एन्ड मिराकल्स’ यसै वर्गका पाठकको रोजाइको एउटा रोमाञ्चक पुस्तक हो । यद्यपि तर्क र तथ्य खोज्नेहरूले यो पुस्तक पत्यारलाग्दो नपाउन सक्छन्, तर पट्यारलाग्दो भने पक्कै पाउने छैनन् ।

पुस्तक (खासमा रहस्यको) प्राधिकार स्वयं यसका रचयिता हुन् । महात्मा गान्धीले ‘मेरो जीवन नै मेरो सन्देश’ भने झैँ स्वामी अरुणको जीवन रहस्य र चमत्कारहरूको बहिखाता हो । निजात्मक लेखनको यस पुस्तक स्वामी अरुणको जीवन प्रवाह सँगसँगै बग्छ । साना बालकले बगैँचामा रङ्गीचङ्गी पुतलीहरूका पछि पछि दौडे झैँ अरूण पनि चेत खुलेसँगै सन्त र रहस्यहरू पछ्याउन थाल्दछन् । एक प्रकारको शून्यपना आफूभित्र महसुस गर्न थाल्दछन् । युवावयमा वैराग महसुस गर्दछन् र आफ्ना अनेकौँ प्रश्नहरूको सही उत्तर दिन सक्ने व्यक्ति खोजिरहन्छन् । 

यिनै प्रश्नको उत्तर खोज्ने व्रmममा उनी अनेकौँ सन्त र ज्ञानोदीप्त मनिषीहरूको सानिध्यमा पुग्छन् । अनि त्यहीँबाट चमत्कारको सिलसिला सुरु हुन्छ । आफ्नो वर्तमान जीवन र पूर्वजन्महरूसँग जोडिएका ती रहस्यबाट चमत्कृत हुन्छन् । जीवनका घटेका प्रत्येक घटना र परिघटना कुनै दैवी शक्तिको पटकथा रहेको बोधबाट झनै आल्हादित बन्छन् । 

व्रिmस्टफर कोलम्बस इन्डियाको खोजमा निक्ले झैँ, स्वामी अरूण पनि रहस्यको खोजमा अनेकौँ उपव्रmम गर्दछन् । आचार्य रजनीश दीक्षित उनी सन्न्यासका प्रारम्भिक दिनहरूमा गुरुका सन्देश विस्तारको एक सूत्रीय अभियानमा हुन्छन् । ठिक यसै बेला उनको आत्माहरू आह्वान गर्ने ‘युगल’ नाम गरेका व्यक्तिसँग परिचय हुन्छ । रहस्य अन्वेषणको तृष्णा उनी मृत्युपश्चात नर्थ पोलमा रहँदै आएका ‘पिकेजी’ नामक एक सन्तको आह्वानबाट पूरा गर्दछन् । उनका अनेकौँ जिज्ञासाको जवाफ पिकेजी दिन्छन् । यसै गरी मुजफ्फरपुरको विद्यार्थीकालमा अरुण त्रिलोचन सिंह नामको एक पञ्जावी मित्रमार्फत वसुलिया बाबा नामको एक तान्त्रिकको सम्पर्कमा पुग्दछन्, जसलाई विवाहमा दाइजोबापत चार भूतहरू प्राप्त हुन्छ । अरुण बसुलिया बाबाका भूतमार्फत आफ्ना अनेकौँ अजवो गरिब आकाङ्क्षाहरू पूरा गर्छन् । त्यसै गरी कलकत्तामा देवताहरूसँग भलाकुसारी गर्ने बाउल सन्त, दक्षिण भारतीय आध्यात्मिक गुरु पारान्ज्योती ओमाहन, केदारनाथ मन्दिरमाथिको कान्ति सरोवरका युवा सन्त उनले साक्षात्कार गरेका अलौकिक मनिषीहरू हुन् ।

रमाइलो त उनी पृथ्वीमा मनुष्यको अस्तित्वमा रहेका सन्तहरू मात्र भेट्दैनन्, सङ्कटका बेला उद्धारकर्ताका रूपमा अनौठा भावभङ्गिमाका मानिसहरू समेत भेट्छन्, जो अरू कोही नभएर उनका गुरु ओशो नै भएको रहस्य कालान्तरमा गुरुसँगकै संवादबाट थाहा पाउछन् । त्यस्तै आफ्ना पूर्वजन्मका कुरा र खासगरी माता गङ्गा र हिमालय पर्वतसँगको सम्बन्धबाट द्रवित हुन्छ । यसै कारण पनि अरुण गङ्गा र हिमालय पर्वततिर तानिन्छन् । गङ्गानदी छेउ पुग्नासाथ उनलाई ‘सात्तोरी’ हुन्छ । उनी गङ्गालाई आफ्नी माता तथा हिमालय पर्वत शृङ्खलालाई पिता समान मान्दछन् ।

स्वामी अरुणको रहस्य यतिमै टुङ्गिँदैन । उनी आफूले प्रत्यक्ष नभेटेका ज्ञानोदीप्त मनिषीहरूका रहस्यका कथा कहिले कुनै सूत्रमार्फत र कहिले प्राप्त सूचना अनि पुस्तकका माध्यम पस्किन्छन् । पुरी (भारत, उडिसा) का तपस्वी सन्त तोतापुरी बाबाका रहस्य उनकी शिष्या मोनिका देवीको प्रसङ्गमार्फत त मस्तराम बाबाका किस्सा मदलासा मार्फत सुनाउँछन्। त्यसैगरी एकसे एक सिद्ध योगीहरू जस्तै, स्वामी अभदूत राम, रामतीर्थ, महाऋषि कार्तिकेय महाराज, स्वामी रामदेखि विटल्सका गुरु महर्षि महेश योगी, सिर्ला प्रभुपाद, रामकृष्ण परमहंश, स्वामी युक्तेश्वर गिरी, परमहंश योगानन्दका जीवन गाथाहरू सुरुचिपूर्ण तवरमा सुनाउँछन् ।

स्वामी अरुण र गुरु ओशो रजनीशबिचको सम्बन्ध धेरैले सन्यास सिर्जिस ठान्न सक्छन् । तर पुस्तक पढ्दै जाँदा यी गुरु–शिष्य सम्बन्ध जन्म जन्मान्तरको देखिन्छ । यसको निश्चित उद्देश्य छ, आध्यात्मिक जागृतिको । ओशो अरुणलाई औपचारिक शिष्य बनाउनुपूर्व नै उनको सङ्कट निवारण निम्ति प्रकट भइसकेका देखिन्छन् । एक जागृत गुरुका रूपमा उनी अरुणप्रति अतिशय प्रेम र करुणा राख्दछन्, जसलाई अरुण पनि गुरु वन्दना र आध्यात्मिक जागरणको आफ्नो अभियानमार्फत गुरु भेट टव्रmाउँछन् । ‘नगरकोटको जादुमयी रात’ मा अरुणलाई भविष्यको यात्रा निम्ति गुरुबाट निर्देशन मिल्छ, जसलाई उनी अविचलित पूरा गर्दै जान्छन् ।

गुरु ओशोको प्रेरणा र मार्गदर्शनले ओशोको मुख्य सन्देश ‘ध्यान’ लाई आफूले नेपाल मात्र नभएर संसारभर फैलाइरहेको अरुणको दलील छ । उनको पहलमा नेपाल र बाह्य देशहरू गरी सयौँ ओशो ध्यान केन्द्रहरू खुलिसकेका छन् । तीमध्येका दुई विशेष केन्द्रहरू तहाचलस्थित आशिष र नागार्जुन पर्वतको तपोवनको आध्यात्मिक वैशिष्ठताबारे उनले पुस्तककमा विस्तारमा चर्चा गरेका छन् ।

गुरुबाट दिइएको आशिष नामबाट नेपालमा सबैभन्दा पहिलो पटक खुलेको ओशो ध्यान केन्द्र असलमा गुरुको पूर्वजन्मको ध्यानस्थल भएको रहस्यबाट अरुण आल्हादित हुन्छन् । ओशो रजनीशको नामले विश्वभर आध्यात्मिक गुरुको ख्याति प्राप्त गर्नुअघिका दुई जन्म तिब्बतमा र त्यसभन्दा पनि अघिल्लो जन्म चाहिँ नेपालमा भएको र गुरुको साधनास्थल नै अहिलेको आशिष रहेकाले त्यो आफैमा बुद्ध–क्षेत्र भएको ठहर अरुणको छ । त्यसै गरी तपोवन शताब्दियौँदेखि ऋषिमुनि, तपस्वीहरूको ध्यान साधना स्थल भएकाले त्यहाँको ऊर्जा र शक्ति अद्भूत रहेको तथ्य अरुण अनेकौँ दृष्टान्तमार्फत पुस्तकमा पेस गर्दछन् । ज्ञानोदिप्त मनिषीहरूको साधनास्थल र बुद्ध क्षेत्र भएकाले अहिले पनि यी केन्द्रहरूमा संसारभरका उन्नत आत्माहरू ध्यानका निम्ति ओइरिने उनी बताउँछन् । तपोवनको आफ्नो शयन कक्षमा एक रात एक अलौकिक योगीलाई आफूले ध्यान मुद्रामा देखेको उनले पुस्तकमा वर्णन गरेका छन् ।

पुस्तकमा अरुणले उल्लेख गरेका चमत्कार यसै त पाठकका रौँ ठाडा पार्ने खालका छन् । तर उनी ती आफूले सञ्चय गरेका रहस्यहरूको सानो पोयो मात्र रहेको खुलासा गर्छन् । कतिपय रहस्यहरू यतिकै खोल्नु उपयुक्त नरहेको उनको जिकिर छ । जीवनको एउटा पडावमा आफू आइपुगेको र गुरुबाट पनि आज्ञा मिलेकाले यी रहस्य खोल्न पुगेको उनी स्पष्ट पार्छन् ।

सरल अङ्ग्रेजी भाषमा लेखिएको तथा ३९ अध्यायहरूमा विभक्त ‘मिस्टिक्स एन्ड मिराकल्स’ एक रोचक रहस्य वर्णन हो । आध्यात्मिकता, रहस्य र निजात्मकता कृतिको मूल चरित्र हो । आध्यात्म र रहस्यका अध्येताहरूका निम्ति यो पुस्तक अत्यन्त रोचक अनि उपयोगी हुन सक्छ । त्यसै गरी तर्क र संशय गर्नेहरूले प्रश्न उठाउन सक्नेछन् । स्वीकार र संशय दुवै गर्ने छुट पाठकलाई छँदैछ । यद्यपि यी दुवै खाले पाठक स्वामी अरुणको कथन शिल्पबाट भने पक्कै पनि कायल हुने छन् । किनकि उल्लेखित धेरै चमत्कारका पात्र उनी स्वयं हुन् ।