प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्षभित्रै स्थायी आवास निर्माण गर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहको नेतृत्वमा छिटोछरितो अभियानका रूपमा भूकम्प प्रभावितको आवास निर्माण हुने जानकारी दिनुभयो ।
सल्यानको दार्मा गाउँपालिका–५, ढाकाडामकोटबाट भूकम्प प्रभावित परिवारको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन अभियानको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले विपत्तिलाई शिक्षा र अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । विपत्को समयमा सरकार सधँै जनताको साथमा रहने चर्चा गर्दै उहाँले भन्नुभयो, “जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले सेवा प्रवाहमा विशेष ध्यान दिएर काम गर्नु पर्छ । नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाह भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनु पर्छ ।”
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले तीन तहको सरकार र जनताको सहभागितामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण गरिने बताउनुभयो ।
सबै वडासम्म इन्टरनेट
नेकपा (माओवादी केन्द्र) ले सल्यानको थारमारेमा आयोजना गरेको कार्यव्रmममा मन्त्री शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट सेवा पु-याउने योजनालाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महŒवपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी
बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिँदै उहाँले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताउनुभयो ।
मन्त्री शर्माले सल्यान, दाङ, रुकुमलगायतका जिल्लाका लागि जीवनरेखाका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।यसै गरी कपुरकोट गाउँपालिकाले शनिबार कपुरकोटमा आयोजना गरेको कार्यव्रmमलाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानीय सरकारले सुशासन र सेवा प्रवाहलाई मूल मन्त्र बनाउनुपर्ने बताउनुभयो ।