• १४ असार २०८१, शुक्रबार

फोहोरलाई मोहर बनाउने प्रयासमा इनरुवा नगरपालिका

blog

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नुहुँदै प्रमुख केदार भण्डारी । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, मङ्सिर १६ गते । 
इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यान्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

शनिबार सुनसरीको इनरुवा नगरपालिका–८ स्थित डुम्राहामा स्रोत पुनः प्राप्तिको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र सामाजिक प्रारम्भिक विश्लेषण (एसआईए) प्रयोजनार्थ आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख भण्डारीले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरमध्ये कुहिनेलाई मलको रूपमा प्रशोधन गर्ने बताउनुभयो । उहाँले विभिन्न सिसि, प्लास्टिक तथा गत्तालाई पुनः प्रयोग गरी फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्य रहेको बताउनुभयो ।

फोहोरलाई मोहर बनाउने योजनाअन्तर्गत अहिले १० वटै वडाका फोहोर सङ्कलन गरेर स्रोतबाटै छुट्टयाई एक ठाउँमा जम्मा गरिरहेको बताउनुभयो । सङ्कलन गरिएको फोहोरलाई पुनः प्रयोग र प्रशोधन गरी मोहरमा परिणत गर्नका लागि काम गरिरहेको उहाँको भनाइ छ । कुहिने वस्तुबाट मल बनाएर नगर क्षेत्रका किसानलाई बिक्री गर्ने र बढी भएको खण्डमा अरूलाई समेत बिक्री गरिने गरी काम थालेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

नगरपालिका क्षेत्र भित्र उत्पादन हुने कुहिने फोहोरसँग नकुहिने अर्थात् सिसि, प्लास्टिक र गत्ताहरु मिसाउँदा फोहोरको मात्रा वृद्धि हुने तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने भएको भन्नुहुँदै उहाँले कुहिने र नकुहिने फोहोर छुटाई फोहोरको उचित व्यवस्थापन भइरहेको बताउनुभयो । फोहोरलाई मोहरमा परिणत गर्न सके नगर भित्रको सबै फोहोर दीर्घकालीन आय स्रोत बन्न सक्ने नगर प्रमुख भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

वर्षौँदेखि चुनौती पूर्ण बन्दै गएको फोहोर व्यवस्थापन हुने अन्तिमचरणमा पुगेको बताउनुभयो । फोहोरको सही व्यवस्थापन गर्न सके वातावरणमा पर्ने प्रभाव कम हुने तथा फोहोरबाटै पैसा कमाई गर्न सकिने नगर प्रमुखले बताउनुभयो ।

‘‘जताततै फालिने सिसा, प्लास्टिक र गत्ताबाट उत्पन्न प्रदूषणका कारण मानिस मात्र नभई, सम्पूर्ण परिस्थिति प्रणाली नै प्रभावित हुने खतरा बढेकाले त्यसप्रति नगरपालिका सचेत रहेको बताउनुभयो । फोहोर सङ्कलन गरी पुनः प्रयोग गर्न सकिने वस्तुलाई जम्मा गर्दै आइरहेको जनाएको छ । अहिले करिब पाँच टन बराबर पुनः प्रयोग गर्न सकिने फोहोर जम्मा भएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरू रिता उराँवले गाउँलाई दुगन्धि गरेर स्रोत पुनः प्राप्तिको काम गर्न नहुने बताउनुभयो । उहाँले प्रारम्भिक चरणदेखी नै विरोध गर्दै आए पनि गाउँको नजिकै डम्पिगंसाईड बनाएकोमा विरोध जनाउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्झना उराँव, रामकिसुन उराँव, रोशन मण्डल, विष्णुदेव मण्डल, रघुवीर मण्डल, इनरुवा ८ वडा अध्यक्ष अशोककुमार मण्डलसहितको बोल्नुभएको थियो ।