बाबुराम शर्मा
दोलखा, मङसिर १६ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीविन्दु छनोट शिविरबाट झण्डै डेढ सय मोतियाविन्दुका रोगी भेटिएका छन् ।
नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा भएको चार दिने निःशुल्क मोतिया बिन्दु छनोट शिविरबाट १३० मोतियाविन्दुका रोगी भेटिएका गाउँपालिकाले जनाएको छ ।
पालिकाका सूचना अधिकारी वसन्तराज रेग्मीका अनुसार शिविरमा सबभन्दा बढी झ्याकुमा ६५, जुँगुमा ३७, सुरीको गुरुम्फीमा २२ र लामाबगर जगतमा छ जना मोतियाविन्दुका रोगी भेटिएका हुन् । उनीहरू सबैको आँखाको शल्यक्रिया गरिन लागिएको छ ।
यसरी शिविरबाट छनोट भएकाहरूको आइतबार र सोमबार गाउँपालिकाको सेवा केन्द्र भोर्लेमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।
नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा पालिकाको मन्थली, गुरुम्फी, झयाकु र जुँगुको स्वास्थ्य चौकीमा आँखा शिविरको आयोजना गरिएको थियो ।
चिकित्सकका अनुसार आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनु नै मोतिया विन्दु हो । अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु र बिस्तारै नजिकको वस्तु वा कुनै वस्तु छुटाउन गाह्रो भएमा मोतिया विन्दुको समस्या हुन सक्छ । मोतियाविन्दुको उपचार बेलैमा नगरेमा दृष्टिघातक रोग जलविन्दु हुने भएकाले बैलेमा मोतिया विन्दुको उपचार गर्न डाक्टरहरूको सुझाव रहन्छ ।