• ४ जेठ २०८१, शुक्रबार

सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुगेका पर्यटक (फोटो फिचर)

blog

सूर्योदयको दृश्य अवलोकन गर्न पुनहिल पुगेका पर्यटकहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १६ गते ।
 म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।

घोडेपानीदेखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि तीन हजार दुईसय १० मिटरको उचाइमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरू पुग्ने गर्दछन् ।

आज मौसम सफा भएकाले पुनहिल पुगेका पर्यटकहरू निकै रमाएका थिए । दैनिक रूपमा दुई सयदेखि तिन सयको हाराहारीमा आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल आएको टिहाउसका सञ्चालक विरेन पुनले बताउनुभयो ।


विश्वप्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल यतिखेर निकै बढेको छ । पोखराबाट पहिलोपटक पुनहिलको भ्रमणमा आउनुभएका सुशीला गुरुङले पुनहिल साँच्चिकै मनोरम स्थल भएको अनुभव बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘म घोडेपानी र पुनहिल पहिलोपटक आएको हुँ । पुनहिल साँच्चिकै सुन्दर स्थल रहेछ ।’’

असोज, कात्तिक र मङ्सिर महिना सम्म यहाँ पर्यटकको चहलपहल हुने पर्यटन व्यवसायी क्याःडमबहादुर गर्बुजाले बताउनुभयो । पर्यटकका लागि यो उपयुक्त समय भएको उहाँको भनाइ छ । 


चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्मनै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्किने गरेको टिहाउसका सञ्चालक पुनले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झण्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकका लागि घोडेपानीमा साना ठुला गरेर २६ वटा सुविधासम्पन्न होटलहरु छन् ।