हेर्दाहेर्दै हिमशिखर झैँ शुभ्र बन्दैछ माथ,
खोल्साखाल्सी किरमिर अहा ! रम्य चौडा ललाट !
दिन्छिन् जे जे प्रिय प्रकृतिले प्रेम घोली अपार,
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
चिम्सा आँखा अलिकति कमै दूरमा देख्न सक्लान्,
भित्री आँखा तब नजिकका भावना भेट्न सक्लान् !
आफूभित्रै झलमल प्रभा जन्मिएलान् हजार,
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
राम्रै होला अलिकति यहाँ कान लाटो भएर
थेरै सुन्ला तर पनि बढी गम्न मौका छ हेर !
आफैँ आफ्नो बस नजिकमा ढाकिद्यौ वारपार,
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
हिँड्दा हिँड्दा पएर घिसिए मार्नदेऊ थकाइ,
चौतारीमा बसीकन खुला छोडिद्यौ सासलाई !
के नै छुट्ला कति दिन यहाँ ? गर्नु केको हतार ?
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
बन्लान् हाम्रा अनुभवहरू रत्न जस्तै अमूल्य,
हाम्रा आशीर्वचन रहनन् शास्त्रकै सार तुल्य !
छिर्काछिर्की स्मरण बटुली गर्नुपर्ला सिँगार,
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
वृद्धावस्था अमृत–वय हो, सम्झ यो श्राप हैन,
फुल्दाफुल्दै प्रिय सुमनले वैलनु पाप हैन !
चिन्ता छोडी सतत भरियोस् वानप्रस्थी विचार,
वृद्धावस्थासित किन यसै तर्सिने बार बार ?
वृद्धावस्थासित किन सखे ! तर्सिने बार बार ?