रक्सौलबाट बिहान ८ बजे मिथिला एक्सप्रेस सुस्त गतिको रेल यात्राबाट सात सय किमिको दुरी पार गरी कलकत्ताको हावडा जक्सन पुग्दा बिहानको ४ बजेको थियो ।
मिर्मिरेमा ८० वर्ष पुरानो आश्चर्यजनक विशाल काय दुई पिल्लरे हावडाको पुल हाम्रो आँखा अगाडि लमतन्न सुतिरहेको थियो । तल बगिरहेको गङ्गा, हुगली नदी सुसाएको आवाज हाम्रो कानमा गुन्जियो ।
कलकत्ता सहर र हावडाको पुल मेरा लागि भने पानी पधेँरो जस्तै थियो । जीवनमा धेरै पल्ट कलकत्ताको यात्रा गर्ने अवसर मलाई जुरेको थियो । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योतिबसुका पालादेखि ममता बेनर्जीसम्मको यो यात्रा निरन्तर अझैसम्म चलिरहेको छ ।
कुनै समयको भारतीय कम्युनिस्ट पार्टीहरूको गढ भनेर चिनिने कलकत्ताबाट आज साम्यवाद लगभग प्रायः समाप्त जस्तै भइसकेको छ । तर यहाँको गरिबी र भिकारीहरूको अवस्था भने सधैँ उस्तै देखिन्छ । पुराना भवन र साँगुरा गल्लीहरूले कहिल्यै पनि काँचुली फेर्न सकेका छैनन् । निम्न वर्गीय मान्छेहरूको दयनीय अवस्था, मान्छेले नै तानेर दौडिने रिक्साहरूबाट प्रतिविम्बित भएको देखिन्छ । कलकत्ता पुरानो ऐतिहासिक सहर हो । बङ्गालीहरूकै बाहुल्य रहेको यहाँको आफ्नै मौलिकपना छ ।
हामीसँग कुनै समयको भारतको राजधानी कलकत्तामा घुम्नका लागि लगभग जम्मा १२ घण्टाको समय थियोे । हामीले अर्को रेल रातिको ८ बजे डुरुन्दो एक्सप्रेस समात्नुपर्ने थियो ।
दिनभरिको कलकत्ता घुम्ने कार्यव्रmम एउटा जिप रिजर्भ गरेर सहज रूपमा बनायौँ र नजिकै रहेको दक्षिणेश्वर मातादेवीको दर्शनबाट हाम्रो बिहानको सुरुवात भयो । अनि नजिकै रहेको अर्को सर्वधर्म समन्वयको प्रतिनिधि रामाकृष्णमन्दिरको अवलोकनका साथै कलकत्ताको प्रसिद्ध भिक्टोरिया पार्क र खिर्तिपुरको बन्दरगाहमा तैरिरहेका विशालकाय जहाजहरूको मनोरम दृश्यावलोकनपछि हामी सियालद जक्सन आइपुग्दा दिउँसोको २ बजिसकेको थियो । बङ्गाल राज्यबाट उडिसा राज्यतर्फ दौडिन डुरुन्दो एक्सप्रेस हाम्रो स्वागतमा खडा थियो ।
हामी हाम्रो लगेजहरू बोकेर वाताअनुकूलित रेलको डिब्बाभित्र पसिसकेका थियौँ । सफा र सुन्दर वातनुकूलित डिब्बाभित्र सुन्दर र शान्त वातावरण थियो । हाम्रा बाबुनानीहरूले डिब्बाभित्रको माहौललाई एक प्रकारले रौनकता थपिदिएका थिए । रेलभित्र बङ्गाली र उडियाहरूको नै धेरै बाहुल्यता देखिन्थ्यो । रातिको ९ बजिसकेको थियो । हाम्रो रेलगाडी एक तमासले दौडिरहेको थियो । बाहिर अँध्यारो निष्पट्ट केही देखिँदैन थियो ।
हाम्रो बी–१ बगीभित्र भने एकदम रमाइलो वातावरण थियो । रातिको भोजनमा तातो भेजिटेबल सुपर र स्न्याक्सले हाम्रो स्वागत हुँदै थियो । वेटरहरू यताउता दौडिरहेका थिए । लामो यात्राको थकान र निन्द्राले हाम्रो टोली सबै मस्त निदाई रहेका थिए ।
बिहानको ४ चार बजे हाम्रो सुपर फास्टले उडिसा राज्यको पुरी जक्सन पु¥याइसकेको थियो हाम्रो सुपरफास्ट दुरुन्दो एक्सप्रेसले पाँच सय ५० किमिको दुरी पार गर्न ८ घण्टा पनि लगाएन छ ।
दुई वर्ष पहिले यही उडिसा राज्यबाट सुरु भएको हुतुहुतुले हाम्रो नेपालमा ठुलो आँँधीबेहरी लिएर आएको थियो र ठुलो जनधनको क्षति पु¥याएको सम्झना हामीलाई ताजै थियो ।
श्रीजगन्नाथको कृपादृष्टि रहेको यस ठाउँमा धेरै किंवदन्तिहरू सुन्न पाइन्छ । भगवान् श्रीकृष्ण, बहिनी सुभद्रा र दाइ बलरामको विग्रह मूर्ति श्रीजगथन्नाथ मन्दिरभित्रको मुख्य आकर्षण रहेको छ । यो मन्दिरका आश्चर्यजनक किंवदन्ति धेरै छन् ।
यहाँ पकाएको महाप्रसाद– जो एक प्रकारको खिचडी हुन्छ यसको महìव धेरै रहेको छ । जेजस्तो भए पनि मनले चोखो मानेर खानुपर्ने र यहाँ छुवाछूत र भेदभावपूर्ण व्यवहार कसैले कसैलाई गर्न नहुने भनाइ रहेको छ । कलाकौशल र पुराताìिवक महìवले भरिपूर्ण मन्दिरको दर्शन गर्ने दर्शनार्थीहरूको अत्यधिक भिडलाई छिचोल्दै भित्र दर्शन गरेर फर्कनु एउटा महाभारतको युद्ध जितेर आएको जस्तो महसुस हुनेरहेछ ।
हामीले हाम्रो यात्राको दुई दिन मन्दिर घुमेर र समुद्रमा बेतोडले उर्लेर आएका छालसँग रमाएर बितायौँ । बङ्गालको खाडीमा विशाल समुद्रका छाल डरलाग्दोसँग उर्लिएर आउँदा एक प्रकारको रोमाञ्चक अनुभूति हुँदोरहेछ । उडिसामा घुम्नका लागि धेरै पर्यटकीय स्थल भए पनि हाम्रो गन्तव्यस्थल अलि टाढै रहेको र यो हाम्रो यात्राको ट्रान्जिट स्थल मात्र भएकाले हामी हाम्रो अर्को लामो रेल यात्राको तयारीमा लाग्नुपर्ने बाध्यता थियो । झन्डै एक हजार तीन सय किमिको यात्रा तय गर्न बाँकी नै थियो । दिउँसो १२ बजे हामीले तिरुपति एक्सप्रेस जसरी नि समात्नु नै थियो ।
हामी चिन्नजियर स्वामीजीको जियरमठको आत्मीय आतिथ्य– सत्कारमा रमाइरहेका थियौँ । भारतको धेरै ठाउँमा रहेको जियरमठले दर्शनार्थी र तीर्थयात्रीहरूका लागि निःशुल्क आवास र भोजनको व्यवस्थापन गर्दै आएको देखिन्छ । श्री चिन्नजियर स्वामीजीप्रति सबैको अगाध आस्था र विश्वास रहिआएको छ । हामीले पनि महन्त श्री १००८ इन्दिरारमन रामानुजदासप्रति आत्मीय आतिथ्यको आभार व्यक्त गर्दै आफ्नु गन्तव्यतिर रवाना भयौँ ।
वैशाख ७ गते दिउँसो १२ बजे तिरुपति एक्स्प्रेस रेल नं. १७४७९
पुरी जक्सनमा खडा थियो । हामी हाम्रो समयभन्दा अगाडि नै प्लेट फार्म नं. ४ मा पुगिसकेका थियौँ । एक महिनाअगाडि हेटौँडामा बुकिङ गरेको सिट हाम्रो बोगी नं. एस–३ लहरै हाम्रै नाममा सुरक्षित थिए आजको यो इन्टरनेटको सुविधाले यो सब सहजै भएको थियो ।
हामी सबै जना आआफ्नो सिटमा आरामसँग बसिसकेका थियौँ । रेलले सिटी फुक्दै आफ्नो रफ्तार तेजगर्न सुरु गरिसकेको थियो । रेलको छुकछुक आवाजसँगै परपर नरिवलका रुखहरू दौडिरहेका भान हुन्थ्यो । समथर फाँट, खेतीयोग्य जमिन प्रशस्त देखिन्थे । दिउँसोको समय थियो । वैशाख महिनाको मध्याह्न बाहिर घाम चर्को लागिरहेको थियो । गर्मी एकदम बढिरहेको महसुस हुन्थ्यो । हाम्रो रेलको शयनकक्षका डिब्बामा हाम्रा बाबुनानीहरू रमाएर खेलिरहेका थिए । उडियाहरू आफ्नै भाषामा गफमा मस्त देखिन्थे । हिन्दी भाषा बोलेको कत्ति पनि सुनिँदैन थियो । काला अग्ला जिउडाल भएका उनीहरूको बोलीचाली र व्यवहार हेर्दा धेरै नै सीधा र सरल लाग्थ्यो ।
एकतमास रफ्तारमा दौडिरहेको हाम्रो रेल गाडी समुद्री झिल, ससाना पहाडका थुम्का पार गर्दै आन्ध्र प्रदेशको सीमाना नजिकै पुग्न थालिसकेको थियो । रेल्वे स्टेसनमा मान्छेहरूको चढ्ने र उत्रने व्रmम चलिरहेको थियो । रेलका डिब्बामा आन्द्र प्रदेशका तेंलुगुहरूको बाक्लो उपस्थिति बढ्दै गएको थियो । उनीहरूको भाषा हामी नबुझ्ने, हाम्रो भाषा उनीहरू नबुझ्ने । यस्तोमा एउटा इसाराको भाषा पनि महìवपूर्ण हुँदोरहेछ । इसारा नै विश्वभाषा पो रहेछ जस्तो लाग्यो ।
भारतीयहरू भए पनि उनीहरू राष्ट्रिय भाषाप्रति उदासीन देखिन्थे र आफ्नो प्रान्तीय मातृभाषाप्रति नै बढी उदार देखिन्थे ।
हाम्रो यात्राका सहयात्री धेरै आए अनि गए तर हाम्रो यात्रा निरन्तर चलिरहेको थियो । गन्तव्य अझै धेरै टाढा थियो । घाम अस्ताएर रात परिसकेको थियो । बाहिरको दृश्य देखिँदैन थियो । चकमन्न अध्याँरोमा हाम्रो रेल एकोहोरो सिटी फुकेर दौडिरहेको थियो । रेलभित्रको वातावरण पनि अब बिस्तारै शान्त हुँदै गएको थियो । हाम्रो डिब्बामा सबैलाई गहिरो निन्द्राले सुताएको थियो ।
म अलि चनाखो निन्द्रा सुतेर उठ्दा बिहान भइसकेको थियो ।
विसाखापटनम हुँदै हामी विजयवाडातिर आइपुग्न लागेका रहेछौँ । अझै पूरा बिहान र दिनभरि पट्यार लाग्दो यात्रा गर्न बाँकी नै थियो ।
हाम्रो रेल समुद्री झिल, नरिवल र केराघारीका मनमोहक बाटो हुँदै एकतमासले दौडिरहेको थियो । निरन्तरको लामो यात्रा भए पनि केटाकेटीहरूले माहौललाई घरकै वातावरण बनाइदिएकाले हाम्रो यो यात्रा एकदम रमाइलोसँग व्यतीत भइरहेको थियो । नेल्लुर हुँदै पुरीबाट एक हजार तीन सय किमिको लामो रेल यात्रा पार गरेर एक रात, दुई दिनमा हामी हाम्रो गन्तव्य तिरुपति आइपुग्दा बेलुकीको ६ बजिसकेको थियो ।
हामी तिरुपति जक्सनमा ओर्लिएर पुनः एउटा जिप रिजर्भ गरी तिरुमल्लाको साँघुरो घुमौरो तर सुरक्षित बाटो हुँदै अघि बढ्यौँ । कडा चेक जाँचपछि हाम्रो जिप नेपालको जस्तै पहाडी बाटो हुँदै २५ किमि टाढा रहेको अति सुन्दर तिरुमल्ला पहाडमा पुग्दा रात झमक्क परिसकेको थियो । सफा र सुन्दर बाटोमा कतै कुनै गुड्खा र चुरोटको ठुटा भेटिँदैन थिए । होटेल र रेस्टुराँहरू मदिरा र मांसरहित थिए । ठाउँ ठाउँमा निःशुल्क भोजन र आवासको व्यवस्था पनि थियो । चौतर्फी घुम्न बालाजी मन्दिरले आफ्नै निःशुल्क सुन्दर बसको व्यवस्था मिलाएको देखिन्थ्यो । एउटा स्वर्गजस्तै आनन्द र सुन्दर स्थानको अनुभूति भइरहेको थियो । टाढैबाट तिरुपति बालाजीको स्वर्ण मन्दिरको झिलिमिलीले धपक्क बलिरहेको देखिन्थ्यो । विश्वको नै सबैभन्दा धनी मन्दिर भनेर चिनिने र सबै हिन्दु धर्मावलम्बीहरूको अगाध आस्थाको केन्द्रविन्दु रहेको बालाजी बैङ्केटेस विष्णु भगवान्को अवतार मानिन्छ ।
आन्ध्र प्रदेशको विन्ध्याचल पर्वतमालामा सानो उपत्यका जस्तै रहेको पहाड तिरुमल्लामा बालाजी मन्दिरले गरेको सेवा र विकासको उत्कृष्ट नमुना हेर्न सकिन्छ । चिल्ला सफा र सुन्दर सडकहरू, मान्छे हिँड्ने सुरक्षित पेटी, निःशुल्क घुमिरहने बसहरू थिए भने निःशुल्क भोजन र आवासको व्यवस्था पनि देखिन्थ्यो । धारामा बगिरहने अविरल पानी, चौबिस घण्टा विद्युत् आपूर्ति भइरहेको थियो । परपर पहाडमा एयर पावरको पङ्खाहरू घुमिरहेका देखिन्थे । यस्तो सुन्दर भूभागमा रहेको बालाजी श्रीनिवास भगवान्को दर्शन गर्न चौबिसै घण्टा लाखौँ भक्तजनको घुइँचो देखिन्थ्यो ।
हामी बिहान १० बजे दर्शनका लागि प्रवेश गरेर बेलुका ६ बजे दर्शन सकेर फर्किएका थियौँ । दर्शन गर्ने व्यवस्था सुव्यवस्थित थियो । भित्र नै बस्ने र खाने व्यवस्थासहितको आरामदायी हल थिए र पुनः प्रवेशका लागि कम्प्युटराइज अत्याधुनिक व्यवस्था थियो । हामी हाम्रो स्थान सुरक्षित गर्न फेस रिडिङ गरेर बायोमेट्रिक कार्ड बनाएर लाइनबाट बाहिर आयौँ । बाहिर घुमेर फेरि निश्चित समयभित्र पुनः प्रवेश गर्दा हाम्रो दर्शनको लाइन अगाडि सरिसकेको थियो । हामीले धेरै प्रतीक्षा गर्नु परेन । लगभग पाँच घण्टाको निरन्तर लाइन र कडा सुरक्षा जाँचपछि हामीहरू श्री बेङ्केट्स बालाजीको सामु पुगिसकेका थियौँ ।
स्वर्णनिर्मित मन्दिरको ढोकाबाट पत्थरको मूर्तिमा विराजमान भगवान्लाई एक पलकको दर्शन गरी फर्कंदा पनि मनमा आनन्दको अनुभूति हुँदोरहेछ ।
संसारमा सबैको आआफ्नो धर्म, आस्था र विश्वास रहिआएको छ । यस्तै अद्भूत आस्था र विश्वास यहाँ देख्न सकिने रहेछ । चौबिसै घण्टा चहलपहल भइरहने तिरुमल्ला हिल एउटा सुन्दर र सुरक्षित स्थान हो । तिरुमल्ला विन्ध्याचल पर्वतमा दुई दिन पूरा बस्दा पनि मन भरिएन तर हामी समयको दास थियौँ ।
हाम्रो चेन्नाई–गोरखपुर एक्स्प्रेसले हामीलाई घरफर्कनका लागि मिति तोकेर टिकट हातमा थमाइसकेको थियो । हामी अझै तमिलनाडु राज्यको चेन्नाई सहर पुग्न बाँकी नै थियो ।
हेटौँडा–४, मकवानपुर