• १० मंसिर २०८१, सोमबार

सपनामा ट्र्याजेडी (कथा)

blog

पना, तिमी आउँछ्यौ । मेरो नजिक बस्छ्यौ । प्रेमका अनेक कथा बुन्छ्यौ । तिमी कथा जस्तै जीवन भन्छ्यौ अथवा जीवन जस्तै कथा सुनाउँछ्यौ । म सुनिरहन्छु । तिम्रो मुहार हेरिरहन्छु । तिम्रो वाणी र तिम्रो मुहारको सादृश्यलाई म अनेक उपमाले सोच्छु, तर सबै उपमाहरू निस्तेज वा निरर्थक लाग्न थाल्छन् । म उपमाहीन भएर तिमीलाई हेरिरहन्छु । हेरिरहन्छु । केवल हेरिरहन्छु ।

०००

तिमी अगाडि बस्छ्यौ । हेछ्यौ । म निःशब्द तिमीलाई नै हेरिरहन्छु । थाहा छैन किन, म तिम्रा अगाडि शब्दहीन हुन पुग्छु । हुन सक्छ । मेरा लागि तिम्रो मुस्कान शब्द हो । उपमा हो । अलङ्कार हो र हो एउटा सिङ्गो काव्य, प्रेमको । म प्रेमशील हुन पुग्छु । तिम्रो मुहारमा प्रेमालङ्कारका अनेक विम्ब हेर्दै रस–साधारणीकरण भएको बोध पनि गर्दछु । यद्यपि यहाँ कुनै ‘वैराग्य शतक’ आउने छैन । आएको छैन कुनै ‘मेघदूत’ वा ‘कुमार सम्भव’ । आएको छ भने केवल तिमी तिम्रो मुस्कान र तिमी हुनुको विशाल अनुभूति । बस् । 

०००

त्यसो त हेर सपना । यहाँ कुनै व्यापक स्वैरकाल्पनिक संसारको खाका मैले कोरेको छैन । बस् तिमीसँग जीवनका केही सीमित क्षणहरूलाई सरल र सहज बनाउनु छ । एउटा सानो घर बनाउनु छ । जसमा तिमी बसेर जीवनको जिउनुको निर्वाहलाई निर्देश दिनेछ्यौ । म तिम्रो आदेशलाई शिरोधार्य गरेर तिम्रै छेउ बस्ने छु र हेर्ने छु तिम्रो मुहारलाई । तिमी एउटा बहुमूल्य मुस्कानले मलाई स्वागत गर्नेछ्यौ । म आफ्नो दैनिकी थकानलाई बिर्सेर तिम्रो मुस्कानको शीतलतालाई आत्मसात् गर्न थाल्ने छु । अनि लाग्न थाल्छ यहीँबाट हाम्रो जीवनको सुदूर गन्तव्यको थालनी हुने छ ।

०००

जीवन लामो नभए पनि हामी सार्थक बाँच्नु पर्छ । यो तिम्रो भनाइबाट म सधैँ प्रेरणामा लिन्छु । लिएको छु । साँच्ची, तिमीसँग भेट नभएको भए मेरो यो शुष्क जीवनको गति कस्तो हुने रहेछ । सोच्छु, एक्लो, बिरानो, अनि त्यसमा पीडाको त कुरै नगर । मैले जीवनमा धेरै नै पीडा खपेको छु । ती पीडा मलाई यति बेला सम्झनु छैन तर तिम्रो मुस्कानका अगाडि ती सबै पीडा मैले बिर्सिसकेको छु । तिमी आउनुको यही अर्थ लाग्दै छ मलाई । तिमीसँग भेट हुनुको कुनै सार्थकता त होला नै अथवा भनूँ हाम्रो भेट कुनै विधि लिखित प्रकरण हो । यत्रो भवसंसारमा मसँगै आएर ठोकिनुको पनि त केही अर्थ लाग्छ नै होला नत्र त कहाँ तिमी कहाँ म । यो मानव–संसारमा कताकता आफ्नो जीवनको खेलमा कतै भौँतारिरहेका हौँला । अब त यस्तो लाग्दै छ तिमी हुनु छ र त म पनि छु । यहीँ यतै तिमीलाई कस्तो लाग्छ वा लागेको छ, कुन्नि ?

०००

मलाई थाहा छ सपना कल्पनाको बादलमा घर बनाइन्न । बनाउनु निमेषभरमै ध्वस्त हुनु हो । कहिलेकाहीँ यस्तो लाग्छ, तिमी मबाट टाढा जाँदैछ्यौ र फेरि म एक्लो हुँदै छु । अनि यो बिरानो संसारमा फेरि मेरो रुमल्लिनुको निरर्थक क्षण आरम्भ हुने छ । यो सोच्ता मेरो मस्तिष्कको सिरासिरा टनटनाएर आउँछ । म एक प्रकारले विक्षिप्त नै हुन पुग्छु । यो तिमीलाई थाहा छ कि छैन, कुन्नि ?

०००

भन्न त तिमीले भनेकी छ्यौ सपना, यहाँ हाम्रो भेट लागि उपयुक्त स्थान छैन । अब भेटलाई केही कम गर्नुपर्ने हुन्छ । अनि हाम्रो प्रेम, सपना ? मेरो प्रश्नमा तिमीले भनेकी छ्यौ । प्रेम अनुभूति हो । अनुभूत गर्दा झन् उपयुक्त हुन्छ । तिम्रो अनुभूतिमय प्रेमको परिभाषा मैले कहिल्यै पनि बुझ्न सकिनछु कि क्या हो । म तिमीलाई भेट्नमा झन् आतुर बन्न पुग्छु, सपना । मानौँ, जीवनको कुनै भर छैन । कुनै पनि बेला जे पनि हुन सक्छ । यसैले म तिमीलाई हराउन सक्ने छैन । हेर, तिमीसँग भेट्नु मेरा लागि अनिवार्य भइसकेको छ । तिम्रो ऊष्माले मलाई दिने जुन प्रेरणा छ नि त्यो मेरा लागि जीवन बाँच्नुको ऊर्जा हो । यो बुझ, यसैले म तिमीलाई अनुभूतिमा मात्र सीमित गरेर बस्नै नसक्ने भएको छु । यो मेरो वास्तविक स्थिति हो ।

०००

तिमीले भनेकी छ्यौ यो मेरो पुरुषमय कमजोरी हो । हो, होइन म भन्ने छैन । तिमीलाई थाहा छ । जसले मुटुदेखि प्रेम गर्छ नि उसले अनुपस्थितिको कल्पना त कदापि गर्न सक्ने छैन । कहिलेकाहीँ तिम्रो अलप हुनुले पनि म कति विचलित र आतिने गर्छु । तिमीलाई थाहा छ अथवा थाहा पाएर पनि थाहा नपाएसरि तिमी सपनाभित्रका सपनाहरूको भिडमा कतै हराउँछ्यौ । म निःशब्द तिम्रो छायालाई भए पनि खोजिरहन्छु । मेरो पक्षको यथार्थ यही हो, सपना ।

०००

सपना, तिमी आँखामा आएपछि त कुनै कुरामा पनि, कुनै दृश्यमा पनि मोह रहेको छैन । सबै कुरा निर्मोह र निरर्थक लाग्न थालेको छ । एकान्तमा टोलाउनु, प्रत्येक कुरामा एकोहोरिनु र ती सबैमा तिम्रै प्रतिविम्ब देखिरहनु सोचिरहनु मेरा लागि भविष्यको कुन अज्ञात सूचक हो ।

०००

सपना, यो कुनै अनिष्टको सङ्केत पो हो कि ? सोच्छु र आफैँभित्र एकफेर त्रासद अनुभूतको अनेक विम्ब उमार्न थाल्दछु । साँच्ची यी सबै कुरा केको इङ्गित हो, मैले ठम्याउन सकेको छैन । अनि त के ? सबै कुरा सोच्न, हेर्न बन्द गरिदिन्छु ।

०००

यथार्थमा जता हेरे पनि तिमी नै तिमी । भन त म के गरुँ । यो कुन खाले मोह हो । मलाई कतै विक्षिप्त पार्छ कि यथावत् राख्छ । मलाई थाहा छैन । हुन त तिमी मेरो आँखामा आउनु यो कुनै संयोग भने होइन, सपना ।

०००

विधिको कुनै लेखा हो कि ? यो भनेर तिमी मलाई फेरि भाग्यवादी सोच्ने गर्लाऊ । म यथार्थमा भाग्यवादी होइन पनि । न त नियतिवादी नै हुँ । मलाई भविष्यको कुनै मोह छैन । विगतप्रति कुनै ग्लानि छैन । म त बस, आज बाँच्ने मान्छे हुँ किनभने म उद्देश्यहीन मान्छे हुँ मैले कहिल्यै पनि उद्देश्य बनाएको छैन । भनिन्छ नि उद्देश्य बनाउनु मोहको प्रतीक हो र मोह दुःखको कारण । यहाँनिर तिमीले सोध्लाऊ उसो भए तिमीप्रतिको मेरो आकर्षण के हो ? तिमीतिर म यस्तरी आकर्षित हुनु के हो ? मोह होइन र ?

०००

केहीछिन मौनताले आवृत्त गरिदिएको बोध हुन्छ मलाई । अनि सोच्छु, हो कि क्या हो । हुन त हो तर यो परिभाषा र उद्देश्यहीन मोह हो । तिमीसँग कुनै योजनाबद्धले आकर्षित भएको पनि होइन नि त म । एउटा स्वतःस्फूर्त सान्निध्यले हामीलाई नजिक्याइएको हो । 

०००

लाग्छ, त्यसरी नै तिमी मेरो आँखामा आउनु कुनै योजना–प्रकरणले होइन । कुनै अदृश्य तन्तुले हामीलाई एकापसप्रति जोड्न पो लागेको हो कि भन्ने लाग्छ मलाई त । अनि तिमीलाई नि ? तिमी त केवल मुस्कानले टाछ्र्यौ वा बस्छ्यौ केही नबोली । कुनै शब्दले उत्तर दिने गरेकी छैनौँ पनि । म यहाँनिर सोचमग्न हुन पुग्छु ।

०००

यति हुँदाहुँदै पनि केही समय भएछ तिमी आउन छोडेकी आँखामा । म निदाउन छोडेको छु । रात त्यसै नै कट्छ कति कुरा गर्नु जूनसँग । जून तिमी जस्तै केवल मुस्काइरहन्छ । केही बोल्ने गरेको छैन । केही समयमा त जून पनि बिलाइसक्छ । तिमी जस्तै हराइसक्छ । अनि अँध्यारो चकमन्नताले मलाई घर्लप्पै छोपिदिन्छ र म निसासिन्छु ।

०००

साँच्ची सपना, तिमी यति कठोर त छैनौँ नि, जति सरल तिमी देखिने गछ्र्यौ ? फेरि यस्तरी अलप हुनुको कारण के ? कुनै सन्देश छैन । कुनै सङ्केत छैन । कतै पनि तिमी हुनुको कुनै अनुभूति पनि छैन । तिमी छैनौ भन्ने लाग्नासाथ म फेरि बिरानो हुन थालेको छु एक्लै भौँतारिन थालेको छु, सपना ।

०००

सपना, धेरै दिनपछि हो कि के हो, अहिले एक्कासि आएकी छ्यौ मेरो आँखामा । तिमी यति बेला आएकी छ्यौ । मसँगै बसेकी छ्यौ, तर किन हो तिम्रो मुहार मलिन देख्छु । म उत्साहले तिमीलाई स्वागत गर्न शब्दका अनेक फूलगुच्छा उन्न थाल्छु तर तिमीमा मसँग भेट्नुको कुनै उत्साह देखिएको छैन । ध्यानले हेर्छु । तिमीमा यो फिक्कापना कसरी समाहित भएछ । म केही छिन चकमन्न हुन्छु । यो कुनै अनिष्टताको सङ्केत हो कि ? तिम्रो मुस्कान खोइ ? खोइ मुहारमा त्यो चहकपना ? मलाई 

भाउन्न लाग्छ । 

०००

म के लाग्छ कुन्नि, तिमीलाई ? अब कतै जान दिने छैन । हराउन दिने छैन । यो सोचसँगै तिमीलाई एक्कासि आफ्नो अँगालोमा बाँध्छु । बाँधेर केही छिन बसिरहन्छु । तिमी प्रतिक्रियाहीन बन्छ्यौ । म बिस्तारै तिम्रो मुहारलाई उठाएर हेर्छु । तिमी आफ्ना सुन्दर नयनलाई निमीलित पार्दछ्यौ । अनि म तिम्रो चिउँडोमा हातले उठाएर तिम्रो मौन कामिरहेको अधरमा चुम्बनको आश्वासन वा प्रेमिल प्रश्नको छाप दिन खोज्छु तर यो के ? तिमी त झस्किएर उछिटिन्छ्यौ । मेरो अँगालाको घेराबाट पन्छिछ्यौ । म अचम्म पर्छु । यो के, किन, अनेक प्रश्नले मलाई आँखा एकटक पार्छन् । तिम्रो कुनै प्रतिक्रिया छैन तर तिमी त केही नबोली आफ्नो ब्याग भिछ्र्यौ । लुगा सम्याउँछ्यौ र मलाई जीवनभरि उत्तर प्राप्त हुन नसक्ने प्रश्नलाई यथावत् राखेर हिँडिदिन्छ्यौ । म अज्ञात आशङ्काको प्रश्न–पेटारो बोकेर तिमीलाई हेर्छु । हेरिरहन्छु । तिमी जीवन जस्तै बिरानो लामो बाटोबाट बिस्तारै बिलाइसक्छ्यौ । म उत्तरहीन सुस्केरा लिएर त्यहीँ लट्ठा भएर उभिएको उभियै हुन्छु । पूरै प्रश्नशील भएर ।

०००

झल्याँस्स, म बिउँझन्छु । सपना, तिमी त कहीँ पनि छैनौ । 

साँच्ची, सपना पनि कहिले सत्य हुन्छ र । सपना हो, जसको नियति नै भङ्ग हुनु हो । टुक्रिनु हो । म विपनाको यो कठोर यथार्थ भावसंसारमा एक निमेषमै एकदमै एक्लो हुन पुग्छु । 

सपना, तिमी त गइसकिछ्यौ । तिमी छैनौ, केही छैन । सबैतिर चकमन्न, शून्य छ

अब म नियतिको यो कठोर यथार्थ चक्लाबिच पछारिन्छु सपनाहीन भएर । सपना साँच्ची के यसलाई सपनामा ट्र्याजेडी मानूँ म ?  

Author

रोशन थापा ‘नीरव’