• १४ असार २०८१, शुक्रबार

चिया प्रविधिको पढाइ सुरु

blog

कोकिला ढकाल 

इलाम, मङ्सिर १६ गते । नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । प्रमुख निर्यातयोग्य वस्तु मानिएको नेपाली चियाको क्षेत्रमा यो विषयको अध्ययन अध्यापन निकै महत्त्वपूर्ण मानिएको छ । अहिलेसम्म भारत र अन्य मुलुकमा गएर सिकेको सिपका भरमा नेपालीले तयारी चिया बनाउने गरेका छन् । 

यस वर्ष भने नेपालमै चिया प्राविधिकको पढाइ सुरु गरिएको इलामको साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयका प्रमुख दीपक खनालले बताउनुभयो । खनालका अनुसार देशभरका ४० विद्यार्थीले पहिलो पटक यो शिक्षालयमा चिया प्रविधि पढ्दै छन् । चिया प्रविधि प्री डिप्लोमा तह (अप्रेन्टिसिप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सुरु गरिएको शिक्षालयका प्रमुख खनाल बताउनुहुन्छ । 

चिया प्रविधि पढाइका लागि दुईवर्षे पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको थियो । “यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्ने छन् । त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास हुने छ,” प्रमुख खनालले भन्नुभयो, “यो पढाइमा ८० प्रतिशत चिया कारखानामा अभ्यास र २० प्रतिशत शिक्षालयमा पढाइ हुने छ ।” विद्यार्थीलाई अभ्यास गराउन इलामका तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, हिमालयन साङ्ग्रिला, कञ्चनजङ्घा टी स्टेटलगायतका करिब १५ वटा कारखानामा व्यवस्था मिलाइएको बताइएको छ । 

नेपालमा चियासम्बन्धी प्रविधिको सिकाइ नभएको अवस्थामा गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिक ल्याउनुपर्ने बाध्यता छ । शिक्षालय प्रमुख खनाल भन्नुहुन्छ, “नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दा त्यो जनशक्ति देशभित्र खुलेका चिया उद्योगमा खपत हुन सक्छ ।” विदेशीले मन पराउने गुणस्तरीय चिया तयार गर्न प्राविधिकको मुख्य भूमिका हुन्छ । 

गोल्डेन, गोल्डेन पर्ल, ओलङ, ह्वाइटलगायत अनेक स्वादका चिया बनाउँदै आएका इलामस्थित जसबिरे चिया उद्योगका सञ्चालक तथा प्राविधिक शरद सुब्बा अहिलेसम्म अरूबाट सिकेकै भरमा सबै उद्योगमा नेपाली चिया बन्ने गरेको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “कतिपय उद्योगमा त भारतीय नागरिक नै चिया प्राविधिक छन् ।”

चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन् । 

चियाको मुख्य क्षेत्र रहेको इलाममै चिया प्रविधि पढाइ हुनु उत्साहजनक विषय भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ । “विश्वमै गोल्ड मेडल पाएको नेपाली चियाका लागि अझ गुणस्तरीय चिया उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक छ,” राईले भन्नुभयो, “अब तालिमको सिकाइका भरमा मात्र होइन, पढेरै आउने जनशक्तिले त्यो पूरा गर्छन् भन्ने अपेक्षा छ ।” विसं १९२० मा इलामबाट सुरु भएको चिया खेती अहिले देशका दर्जनभन्दा बढी जिल्लामा पुगेको छ ।