गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको एक अध्ययनले देखाएको छ । दलित महिला सङ्घले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।
अध्ययनअनुसार २०७९/०८० मा लैगिंक हिंसासम्बन्धीका दुई हजार ५३५ घटनामा १२.३८ प्रतिशत दलित महिलामाथि भएका छन् । यो अन्य जातजातिका महिलाको भन्दा दोब्बरले धेरै भएको सङ्घले जनाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभेद र हिंसाका घटनामा द्रुत मार्ग (फास्ट ट्रयाक) बाट न्यायिक प्रक्रिया अघि बढाउन माग गरिएको छ । राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले भन्नुभयो, “आयोगमा एक वर्षमा जातीय विभेदका ५५ वटा घटना दर्ता भएका छन्, यो सङ्ख्या कम हो । घटनालाई जातीय र दलीय हिसाबले नै ढाकछोप गरिएको छ । दलितमैत्री प्रहरी प्रशासनको आवश्यकता छ ।”
दलित महिला सङ्घकी संस्थापक अध्यक्ष दुर्गा सोवका अनुसार लैङ्गिक हिंसाको सबैभन्दा बढी सिकार दलित महिला भएका छन् । घरभित्रै दलित महिलामाथि हिंसा छ । दलित महिलामाथिको दोहोरो तेहरो उत्पीडन र विभेद अन्त्यका लागि प्रभावकारी कानुन र संरचनाको जरुरी रहेको उहाँले बताउनुभयो ।