• १४ असार २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १५ गते । झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी गाउँपालिका–३ निवासी ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

शुक्रबार बिहान करिब ९ बजे सामुदायिक वनमा रेखदेखका लागि खटिनुभएका उहाँको हात्तीसँग जम्काभेट हुँदा हात्तीले लछारपछार गर्दै कुल्चिएपछि वनको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान करिब ११ बजेतिर जङ्गलमा बीभत्स अवस्थामा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेको स्थानीयको भनाइ छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर शव उठाइएको प्रहरीको भनाइ छ ।

एक साताअघि झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरका एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । पछिल्लो समय झापामा जङ्गली हात्तीको आतङ्क बढ्दैगएको छ ।