• ४ जेठ २०८१, शुक्रबार

बरफ जमेकाे पञ्चकुण्ड तालमा पर्यटक (फोटो फिचर)

blog

पञ्चकुण्ड तालको पानी जमेर बरफ भएको दृश्य र तालकोबीचमा तस्विर खिचाउँदै आन्तरिक पर्यटक । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटरको उचाइमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । 

करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल यतिखेर सबै जमेर बरफ बनेको छ । ताल जमेर बरफ बनेपछि आन्तरिक पर्यटकहरु तालको अवलोकन गर्न पुग्ने गरेको नारच्याङका पर्यटन व्यावसायी तेज गुरुङले बताउनुभयो । यो सिजनमा म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन, झापालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक आधार शिविरको भ्रमणमा आएको उहाँले बताउनुभयो । 


नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुग्न सकिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

आधार शिविरसम्म पुग्ने ठाउँठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । यसैगरी, अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्धनका लागि विज्ञहरुसहितको टोली नारच्याङ हुँदै अन्नपूर्ण हिमालका प्रथम आरोही ‘मौरीस हर्जोग’ले प्रयोग गरेको पदमार्ग पछ्याउँदै आधार शिविर पुगेर बिहीबार फर्किएको छ । 

अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा भएको सोमबारदेखि सुरु भएको पदयात्रामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुुवाको सहभागिता थियो ।  


आयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्धबहादुर गुरुङ, नेपाल सरकारका पूर्व मुुख्यसचिव डा. सोमलाल सुुवेदी, पर्यटनविज्ञ तथा सिटिईभिटिका पूर्व सदस्यसचिव रामहरि कोइरालासहितको २५ जनाको टोली नारच्याङको हुमखोलादेखि दुई दिन पैदलयात्रा गरेर आधार शिविर पुगेको थियो । 

“अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौ” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो “यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्धन गर्ने उद्देश्यले पदयात्राको कार्यक्रम गरिएको हो ।”