• १४ असार २०८१, शुक्रबार

तिम्ल्याहा बच्चाको पोषणका लागि माउ गाई सहयोग

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १५ गते । झापाको गौरिगंज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्‍याउन गौरीगन्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ । 

गत असोजको तेस्रो साता अमिन ताजपुरियाकी बुहारी रविना ताजपुरियाले एकै पटकमा तीन बच्चाको जन्म दिनुभएको थियो । बिपन्न परिवारमा बालबच्चालाई ख्वाउनका लागि दूध समेत किन्न सक्ने अवस्था नरहेको पाएपछि आमा र बच्चाका लागि नै सहयोग पुगोस् भनेर दुधालु गाई उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुवरले बताउनु भयो ।

गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी सहितको टोली गएर तीन वटै बच्चा सहित आमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गाई उपलब्ध गराएको हो । विराटनगर स्थित नोवल मेडिकल कलेज विराटनगरमा रविनाले तीन बच्चालाई जन्म दिए पश्चात् भरण पोषणमा समस्या सुरु भएको बताउनु भएको थियो । 

यसभन्दा अघि भने उहाँका २ सन्तान रहेका थिए । पछिल्लो पटक तीन वटै बच्चालाई जन्मिएपछि उहाँका ५ सन्तान भएका छन् । आमाको स्वास्थ्य अवस्था राम्रो पाउँदा खुसी लाग्यो, गाउँपालिका अध्यक्ष फ्ुलवती राजवंशीले भन्नुभयो । बालबच्चाको भरण पोषणमा पालिकाले सक्ने सहयोग गर्दै जाने पनि उहाँले जनाउनु भएको छ ।