• १२ साउन २०८१, शनिबार

जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री महत

blog

अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महत ।

काठमाडौं, मङ्सिर १३ गते। अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीले सोचेको भन्दा बलियो रहेको बताउनुभयो। उहाँले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्य र मान्यता र कानुनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘अफ्ठ्यारा त देशमा धेरैखाले छन्। त्यो अफ्ठ्यारालाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ। राजनीतिमा त अफ्ठ्यारा आउँछन्। एकदम स्मोथ, सहज बाटो त छैन। अफ्ठ्यारा त आइरहन्छन्। त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो। नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानुनी शासनमा विश्वास गर्दछ। त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभूति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध छ। विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो। यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन्।’’

अर्थमन्त्री महतले समस्या परेको ठाउँमा राज्यले हेर्नुपर्ने तर छुट कसैलाई दिन नसकिने बताउनुभयो। ‘‘जनताबाट स्थापित यो सिस्टम यति कमजोर छैन। यसको पक्षमा ठूलो जनमत छ। जसले जानीजानी बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन। तर गर्दागर्दै समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ।’’

अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताउनुभयो।