• १२ साउन २०८१, शनिबार

कोरियाली धर्मगुरुद्वारा लुम्बिनीमा ‘शान्ति घण्टी’ निर्माण

blog

शान्ति घण्टी उद्घाटन गर्नुहुँदै मन्त्री किराती । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर १३ गते ।
 बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्मगुरुद्वारा ‘शान्ति घण्टी’ निर्माण गरिएको छ । कोरिया–नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा डेढ टनको घण्टी निर्माण गरिएको हो ।

शान्ति घण्टीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसबाट विश्वभर शान्तिको सन्देश प्रवाह हुने बताउनुभयो ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्यहरू, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाउँदै घण्टी उद्घाटन समारोह गरिएको थियो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किरातीले बुद्धभूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताउनुभयो ।

मन्त्री किरातीले भिक्षुहरूले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीहरूबिचको निःस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत बताउनुभयो । ‘‘नेपाल कोरियाबिच इतिहास जस्तै पुरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’’ लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री किरातीले भन्नुभयो, ‘‘कोरियाले नेपालीहरूलाई रोजगारी दिएर र नेपालीहरूले पसिना दिएर सहयोग गरेका छौँ, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।’’ उहाँले संसारभरका बुद्धमार्गीहरुलाई लुम्बिनी जाऔँ भन्ने अभियान कोरियामा चलाउन घण्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईँहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला, परिवारसहित लुम्बिनीमा आउनुहोस् ।’’

उहाँले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताउनुभयो ।  बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसूति अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विश्वका बौद्धधर्मालम्बीहरुलाई सहयोग गर्न मन्त्री किरातीले आग्रह गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घण्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरूलाई धन्यवाद दिनुभयो । उहाँले शान्ति घण्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्वन्द्वको समाधान र शान्ति स्थापनाको सन्देशका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शान्ति घण्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घण्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । ‘‘यो घण्टीको आवाज बुद्ध र बोधित्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरूले प्राणीहरूको पिडालाई राहत दिने प्रतीक हो’’ धर्मगुरु हेजाले भन्नुभयो, ‘‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरूलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरूको पिडालाई आनन्दको आवाज दिनेछ ।’’

घण्टी उद्घाटन समारोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घण्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताउनुभयो । उद्घाटन समारोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति थियो ।

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो  ।