छविलाल पाण्डे
बुटवल, मङ्सिर १३ गते । रुपन्देहीकै ठुलो गैडहवा तालको प्रचार प्रसार गर्ने उद्देश्यले ताल क्षेत्रमै सांस्कृतिक महोत्सव गर्ने निर्णय गरिएको छ । गैडहवा गाउँपालिकाको सहयोगमा स्थानीय शान्ति युवा क्लबले सांस्कृतिक महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
स्थानीय परम्परा झल्किने सांस्कृतिक प्रस्तुतिसहित तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवा क्षेत्रको पर्यटन प्रवर्धन गरी तालको अन्तर्राष्ट्रिय रूपमै प्रचार गर्ने उद्देश्यले महोत्सव तथा प्रतियोगिता गर्न लागिएको बताउनुभयो । जिल्लाकै ठुलो गैडहवा तालमा हजारौँ प्रजातिका चराको वासस्थान समेत रहेको छ ।
अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको विकास, नागरिकमा सीप विकास गरी होमस्टे सञ्चालनको तयारी तथा सम्भाव्यताको अध्ययन गरी पर्यटकीयस्थलहरु थप गर्नेगरी अघि बढेको बताउनुभयो ।
मानव निर्मित गैडहवा तालको ५० बिघा क्षेत्रफलमा जलाशय रहेको छ । यसको पूरा क्षेत्रफल ८४ बिघा छ । सुरुमा गैडाहरु आहाल बस्ने भएकाले तालको नाम गैडहवा रहन गएको किंवदन्ती छ । तालमा पर्यटकलक्षित दुईवटा स्टिमर र दुईवटा खुट्टाले चाल्ने डुङ्गा सञ्चालनमा छ ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टङ्कप्रसाद बस्नेतले जानकारी दिनुभयो । यही मङ्सिर २७ देखि ३० गतेसम्म हुने सांस्कृतिक महोत्सव हुनेगरी तयारी गरिएको बताइएको छ ।
भलिबल प्रतियोगिताको विजेताले ७५ हजार नगद राशिसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैगरी उपविजेताले ५० हजार, तेस्रो हुने समूहले ३० हजार तथा सान्त्वना हुने समूहले २० हजार नगद राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका र वडा ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।