• १२ साउन २०८१, शनिबार

ताप्लेजुङमा यातायात र बजार पूर्णरुपमा बन्द

blog

पहिचान पक्षधरले आह्वान गरेको बन्दका कारण ठप्प बनेको फुङ्लिङ बजार । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १३ गते ।
 पहिचान पक्षधरले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ गर्न माग राखेर आह्वान गरेको बन्दका कारण ताप्लेजुङमा यातायात र बजार ठप्प भएको छ । बन्दका कारण बुधबार बिहानैदेखि बजार पसल तथा यातायात पूर्णरुपमा ठप्प भएको हो ।

सदरमुकाम फुङ्लिङ बजार पूर्णरुपमा बन्द भएको छ भने चार पाङ्ग्रे गाडी, तीन पाङ्ग्रे अट्टो, दुई पाङ्ग्रे मोटरसाइकलसहित सबै किसिमका सवारी साधन ठप्प पारिएको छ । बजार पसल बन्द भएपछि उपभोक्ता र व्यापारीबिच सामग्री खरिदबिक्री ठप्प भएको छ ।


यस्तै, मोटरसाइकलसहितका सवारी साधन ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका छैनन् । ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातका साधन नचल्दा यहाँको भ्रमण तथा पाथिभराको दर्शनमा आएका पर्यटक, तीर्थयात्रीलगायत यात्रु प्रभावित बनेका छन् ।

बन्द कार्यक्रमलाई सफल बनाउन पहिचान पक्षधरका कार्यकर्ता फुङ्लिङ बजारका चोक–चोक र मेची राजमार्गअन्तर्गत बजारका सडकहरूमा बिहान सबेरैदेखि खटेका छन् । एम्बुलेन्स, दुग्धजन्य तथा तरकारीजन्य वस्तु बोकेका साधनलाई भने कुनै रोकावट नभएको बन्द आह्वान गरेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका जिल्ला संयोजक डम्बर पालुङवाले जानकारी दिनुभयो ।

पहिचान पक्षधरले गएको आइतबार नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटब्युरो तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोलाई कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनसँगै आन्दोलनकारी समूहले प्रतिनिधि सभा सदस्य भट्टराई सवार गाडीमा तोडफोडको प्रयाससमेत गरेको थिए ।


भट्टराई र मेन्याङ्बोविरुद्धको आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेको कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवाको बिनासर्त रिहाइको माग राखेर सो समूहले बन्दसहितको आन्दोलन सुरु गरेको हो । यता बुधबार पनि पक्राउ परेका साथीहरुलाई बिनासर्त रिहाइ नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चित बन्द आह्वानसहित आन्दोलनलाई सशक्त र व्यापक बनाउँदै लैजाने पहिचान पक्षधरका नेता नवीन पोमूले बताउनुभयो ।