• १५ मंसिर २०८१, शनिबार

आत्मनिर्भर बन्दै महिला

blog

तम्घास समाचारदाता

तम्घास, मङ्सिर १३ गते । घरको चुलोचौकोमा सीमित रहने यहाँका स्थानीय महिला नौमती बाजा बजाएर संस्कृति संरक्षणका साथै आर्थिक रूपमा आयआर्जन गर्न थालेका छन् । मेला, पर्व, सभा समारोहमा महिला बाजा बजाएर रकम लिने गर्छन् । 

गुल्मी मदाने गाउँपालिकामा महिलाको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन् । छिमेकी पालिकासहित सदरमुकाम तम्घाससम्म यो समूहले आकर्षक नेपाली पोसाकमा सजिएर नौमती बाजा घन्काउने गरेको छ । 

मदाने महिला नौमती बाजा समूहका अध्यक्ष वसन्ता जिसीले एक दिन नौमती बाजा बजाएबापत २५ हजारदेखि ३५ हजार रुपियाँसम्म लिने गरेको बताउनुभयो । मदाने महिला नौमती बाजा समूहमा ११ जना सदस्य रहेका छन् । जसमा वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असीम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक रहनुभएको छ । महिला घरको चुलो चौकोमा मात्र सीमित नभई अगाडि बढ्नु पर्छ भन्ने उद्देश्यले आफू समूहमा हिँडेको सो समूहकी सुस्मिता घर्तीले बताउनुभयो ।

आफूले सिकेको सिपलाई ठुला ठुला कार्यक्रममा प्रस्तुत गर्न पाउँदा मनमा आनन्द आउने गरेको उहाँ बताउनुहुन्छ । आर्थिक रूपमा पनि बलियो बन्दै गएको र राम्रो लगाउन तथा मिठो खान कसैको मुख ताक्न नपरेको उहाँको भनाइ छ ।