• १५ मंसिर २०८१, शनिबार

पढ्दै कमाउँदै विद्यार्थी

blog

मीना कँडेल 

कावासोती, मङ्सिर १३ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सिप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरी १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सिपमूलक तालिम सञ्चालन गरिएको छ ।

पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बिङ, ब्युटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सिप बोकेर निस्किउन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागु गरिएको हो ।”

पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३, बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताउनुभयो । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन् ।” उहाँले भन्नुभयो, “यही तालिमले गर्दा बिचमा पढाइ छाड्नेको सङ्ख्या यो वर्ष छैन ।” आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यस्तै विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गतको सिलाइकटाइ तालिममा सूर्यज्योति मावि कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सिप पनि सिकिरहेका छन् । कक्षाका छात्रछात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन् । क्याट्रिना तामाङले पनि विद्यालयमै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पढाइ मात्र हुने गरेको थियो तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ । हामीलाई धेरै प्रभावकारी भइरहेको छ ।” आफूले सिकेको सिपबाट घरमै बसेर पनि आम्दानी गर्न सकिने भएकाले राम्रो भएको तामाङले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले शिक्षामा मात्रै २० करोड नौ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । विद्यार्थीलाई १८० घन्टे सिपमूलक तालिम र प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई ६२ हजार पाँच सय रुपियाँका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ । यो वर्ष ४५० विद्यार्थीले तालिम लिइरहेका छन् ।