• १५ मंसिर २०८१, शनिबार

पुल निर्माणमा ढिलाइ

blog

पाल्पा समाचारदाता

तानसेन, मङ्सिर १२ गते । पाल्पाको सत्यवती जोड्ने गोरबन्दीघाट पुल निर्माणमा निकै ढिलाइ भएको छ। ठेक्का गरेको तीन वर्ष पुग्न लाग्दासमेत निर्माणको १० प्रतिशत मात्र काम भएको छ । निर्माण व्यवसायी र पुल डिजाइनमा देखिएको समस्याका कारण पुल निर्माणको काममा ढिलाइ भएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ साल फागुनमा दुई वर्षभित्र पुल बनाउने ठेक्का सम्झौता भएको थियो । 

पूर्वस्वीकृत डिजाइन अनुसार काम हुने भए पनि पुलमाथि नै खोला पसेपछि पुनः डिजाइन गरिएको छ। प्राविधिक डिजाइनमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा तीन वर्षमा केही काम हुन सकेन । 

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख वासुदेव भण्डारीले पहिले डिजाइन गरेको स्टिमेट परिवर्तन गर्दा पुल निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः नयाँ डिजाइन अनुसार काम अगाडि बढेको छ, गत वर्ष पुलको जग बनाउने काम भएको छ र ठेकेदारले एक करोड २६ लाख भुक्तानी लिइसकेका छन् ।” यो वर्षदेखि गोरबन्दीघाटको पुल निर्माणले गति लिने कार्यालय प्रमुख भण्डारीको भनाइ छ । गोरबन्दीघाटमा तिनाउ खोला तर्ने पुल नहुँदा स्थानीय बर्खामा चार महिनासम्म यातायातको पहुँचबाट वञ्चित हुने गरेका छन् । 

उक्त स्थानमा अझै पुल बन्न नसकेको वडा नं. ४ का अध्यक्ष तुलबहादुर आलेले बताउनुभयो। ‘पुल नभएकै कारण वर्षा लागेपछि वडाका बासिन्दा चार महिनासम्म यातायातको सम्पर्कबाट बिच्छेद हुन बाध्य हुने गरेको उहाँले बताउनुभयो । 

सिद्धार्थ राजमार्ग नजिकै रहेको वडा भए पनि तिनाउ र झुम्सा खोलामा पुल नहुँदा तिनाउको वडा नं. ४ सहित माथागढीको वडा नं. ५ का बासिन्दा प्रभावित बनेका छन् । पुलका कारण गिजनचउर, छाँप, सत्यवती, माथागढीको बोम्सेडाँडा, धामिघा, सिमलेका पाँच सय परिवार पैदल हिँडेर पालिका केन्द्र पुग्न बाध्य हुने गरेका छन् ।