• १० मंसिर २०८१, सोमबार

‘अस्थायी आवास निर्माणको काममा जुटेका छौँ’

blog

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको विपत् खेप्नु परेको छ । भूकम्पको प्रत्यक्ष मारमा आफैँ पर्दा पनि आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसी रातदिन खोज, उद्धार, उपचार र राहतको काममा सक्रिय हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट प्रमुखमा निर्वाचित केसीसँग भूकम्पले पु¥याएको क्षति, राहत वितरण, अस्थायी आवास र पुनर्निर्माणको योजना एवं पालिकाका गतिविधिका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, गोरखापत्रका मुसीकोट समाचारदाता (रुकुमपश्चिम) राजु लामिछानेले प्रमुख केसीसँग गर्नुभएको कुराकानी : 

भूकम्पले तपाईंको नगरपालिकामा के कति क्षति पु¥यायो ?

भूकम्पले हाम्रो नगरपालिकामा ४४ जनाको (४२ जना आठबिसकोटमै र दुई जना जाजरकोटमा) मृत्यु भएको छ । नगरपालिकामा नौ हजार पाँच सय घरमध्ये सात हजार १४७ घर पूर्ण रूपमा क्षति भएका छन् । अन्य घरमा पनि आंशिक रूपमा क्षति भएको छ । ६४ वटा विद्यालयमध्ये ५३ वटामा क्षति पुगेको छ । खानेपानीका योजना, सडक, स्वास्थ्य संस्थालगायतका संरचनामा क्षति पुगेको छ । निजी आवास र विद्यालयका शौचालयसमेत ध्वस्त भएका छन् । भूकम्पले गर्दा नगरपालिका क्षतविक्षत अवस्थामा रहेको छ । 


भूकम्प प्रभावितको अल्पकालीन राहत तथा पुनर्बासका योजना के बनाउनुभएको छ ?

भूकम्पले क्षति गरिसकेपछि हामीले अल्पकालीन रूपले त्रिपालसहित राहतका सामान वितरण ग¥यौँ। अझै पनि केही त्रिपालको अभाव नै छ । यद्यपि नगरपालिकाका ४४ हजार जनतालाई त्रिपालमुनि राखेका छौँ । अब अस्थायी आवास निर्माणमा केन्द्रित भएका छौँ ।

 केही नागरिक आफैँ पनि अस्थायी टहरा निर्माणमा जुट्नुभएको छ । विभिन्न निकाय स्वयम्सेवी रूपमा लागिरहनुभएको छ । अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पनि ढिला गरी आएको हुनाले चाँडै नै अस्थायी आवास बन्न सकेनन् । अब बन्ने भवन भूकम्प प्रतिरोधी बनाउनु पर्छ नै, त्यसका लागि सबै सहयोगी दातामा अनुरोध गरिरहेका छौँ । 

भूकम्पपछिको अवस्था के कस्तो हुँदै छ ?

हामीले खोज, उद्धार र उपचारको काम ग¥यौँ। अहिले राहत वितरणको पहिलो चरण सकाएका छौँ। अब अस्थायी आवास निर्माणको काममा जुटेका छौँ । मङ्सिर महिनाभित्र त्रिपालमुनि रहेका सर्वसाधारणलाई अस्थायी आवासमा सारी सक्ने योजनासाथ काम थालेका छौँ । अहिले हामी क्षतविक्षतको अवस्थाबाट भूकम्प अघिकै लयमा बिस्तारै फर्कने कोसिसमा छौँ  । पुरानै अवस्थामा फर्कन त समय धेरै लाग्ने देखिन्छ । प्राथमिकतासाथ त्रिपाल, खाद्यान्न र न्यानो कपडामा सँगसँगै जोड दियाैँ । भनेजति नभए पनि अहिले आधारभूत हिसाबले यो कुरा पूरा भएको छ । विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गरिरहेका छौँ  । 


तपाईं निर्वाचित भएको डेढ वर्षमा के कस्ता चुनौती भोग्नुभयो ?

आठबिसकोट नगरपालिका भौगोलिक रूपले जिल्लाको सबैभन्दा ठुलो (४६ प्रतिशत भूभाग ओगटेको) र दुर्गम मानिने पालिका हो । यहाँको भौगोलिक विकटता, गरिबी र बेरोजगारी मुख्य चुनौती बनिरहेका छन् । आवश्यकता धेरै छन्, ती पूरा गर्ने स्रोत सीमित छ । यी चुनौती चिर्न हामीले निर्वाचनमा जाँदा जुन कुरा घोषणापत्रमा राखेका थियौँ, त्यही अनुसार काम गरिरहेका छौँ । 


तपाईंको पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?

गरिबी, अशिक्षा, स्रोत साधनको अभाव, भौगोलिकता हाम्रा मुख्य समस्या हुन् । उत्पादनसँग नागरिकलाई जोडेर आर्थिक उपार्जन गर्ने योजना छ । माटो र वातावरण सुहाउँदो उत्पादनमा जोड दिने र उत्पादनलाई राज्यले बजारमा जोड दिने छौँ । अघिल्लो वर्ष पनि हामीले किसानले उत्पादन गरेका किवी, सुन्तलालगायतका फलफूलको बजार ग्यारेन्टी गरेका थियौँ । जनताको मागका आधारमा प्राथमिकीकरण गरेर योजना सम्पन्न गर्ने छौँ । 


पालिकाको विकासका लागि सङ्घीय र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

संविधानले नै समन्वय, सहकार्य, सहअस्तित्वको कुरा गरेपछि हामीले त्यसमा कमजोरी गरेका छैनौँ। सङ्घ र प्रदेश सरकार अलि बढी हाबी हुन खोज्छन् । स्थानीयस्तरमा गर्नुपर्ने कामहरू आफैँ कार्यान्वयन गर्न खोज्दा योजनामा दोहोरोपना हुने समस्या छ । ती कामको प्रभावकारिता पनि नहुने अवस्था छ । समन्वय र सहकार्यसँगै सहअस्तित्वलाई पनि माथिल्ला मानिने सरकारले ध्यान दिन जरुरी छ । 


अहिलेसम्मका मुख्य उपलब्धि के के हुन् ?

हाम्रो पालिका पशुपालन र फलफूल खेतीमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले उत्पादनसँग नागरिकलाई जोड्ने कार्यमा जोड दिएका छौँ । किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणको व्यवस्था गरेका छौँ । किसानलाई उत्पादनमा प्रेरित गर्न अनुदानका काममा सहयोग गरेका छौँ । विद्युतीकरणलाई जोड दिएका छौँ । अहिले सात वटा वडामा केन्द्रीय विद्युत् लाइन पु¥याएका छौँ। नगरपालिकाको केन्द्रसँग जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । नगरमै रहेको अस्पतालमा सेवा सुविधा विस्तार गरेका छौँ । प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सेवा विस्तार योजना अनुरूप काम सुरु गरेका छौँ ।  

नागरिकलाई नजिकबाट सेवा दिन नापी र मालपोत सेवाका लागि कार्यालय स्थापना भइसकेका छन् । सबै वडाबाट पालिका केन्द्रमा सडक सञ्जाल जोडेका छौँ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरेका छौँ । अपेक्षित प्रतिफलको आशा बोकेर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सकारात्मक काम सुरु गरेका छौँ । अप्ठ्यारो अवस्थामा पनि स्थानीय सरकार पछाडि हटेको छैन, हाम्रो साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सफल भएका छौँ   । 


आगामी दिनमा के कस्ता लक्ष्य रहेको छ ?

गरिबी अन्त्यका लागि जनतालाई उत्पादनसँग जोड्ने, उत्पादनलाई रोजगारसँग जोड्ने, विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, वडाका सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरसहित सुविधा सम्पन्न बनाउने, पर्यटकीय सम्भावना बोकेका क्षेत्रको अध्ययन गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएका छौँ । दुई वर्षभित्रमा सबै वडामा विद्युत् सेवा पु¥याउने छौँ । जनताका गुनासा सुन्ने, माग पूरा गर्ने प्रयत्न जारी छ ।