• १५ मंसिर २०८१, शनिबार

औद्योगिक व्यापार महोत्सवमा नौ करोडको कारोबार

blog

आयोजकद्वारा गरेको पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर ११ गते । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ । 

मेलामा अहिलेसम्म नौ करोड बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनुभयो ।

‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ । 

दीपावलीलगायतका कारणले दर्शक र व्यवसायीको मागअनुसार १७ गते आइतबारसम्म मेला सञ्चालन हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो  मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवम् औद्योगिक मेशिनरीको प्रदर्शनी एवम् बिक्रीका लागि राखिएको छ ।

कृषिमा हुँदैगएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटीलगायत विभिन्न प्रकृतिका २५४ स्टल रहेका छन् ।

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था रहेको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारको प्रस्तुति, साङ्गीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडललगायतका प्रतियोगिताहरू सञ्चालन भइरहेको प्रेस सल्लाहकार खिमानन्द भट्टराइले जानकारी दिनुभयो ।

मेलाको अवलोकनका लागि ८० रुपियाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेयले बताउनुभयो । 

बिक्री भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्याइने उद्योग उपाध्यक्ष सुरज पङ्गेनीको भनाइ छ । सो मेलाको मङ्सिर १ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको थियो ।