• १० मंसिर २०८१, सोमबार

गुरु नानक जयन्तीमा साधुसन्तका लागि भण्डारा

blog

गुरु नानक जयन्तीका अवसरमा कुपण्डोलस्थित राजराजेश्वरीमा साधुसन्तका लागि आयोजना गरिएको भण्डारा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मङ्सिर ११ गते । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज (सोमबार) विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

गुरु नानकको जन्म वि.सं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहेब’ को रचना गर्नुका साथै जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुवात  गर्नुभएको थियो ।


गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवम् सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए ।


यसै अवसरमा कुपण्डोलस्थित गुरुद्वारमा बिहानैदेखि सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’का लागि भोजन तयारी गरिएको छ । गजन सिंगका अनुसार अन्य सामान्य दिनको भन्दा आज गुरुदेवको जन्मजयन्तीका दिन एक हजारभन्दा धेरैका लागि भोजन तयार गर्नु पर्ने भएकाले बिहानैबाट तयार गरिएको छ । उहाँसँगै कमलजित सिंग, भोला सिंह, प्रकट सिंग, जर्नेल सिंग, परमजित सिंग, अर्जुन र जस्सीले पनि काममा सहयोग गरिरहनुभएको छ । बिना भेदभाव सामूहिक र एक अर्कोको सहयोगमा काम गर्नुसँगै भोजन गर्नु यस धर्मको विशेषताको रूपमा छ ।


आज नै बालाजुस्थित गुरुनानक मठमा पनि सडक लङ्गरको आयोजना गरिएको छ, जहाँ सडकमा बसेका र खाना नपाएकाहरूलाई भोजना गरिएको छ ।

समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने गुरु नानक निर्गुण उपासनाका पक्षपाती ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।