• १८ असार २०८१, मङ्गलबार

आत्मघाती गोल सहयोगमा हारबाट जोगियो बार्सिलोना

blog

बराबरीपछि खुशी मनाउँदै बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, मङ्सिर १० गते । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकियो ।

खेलमा सुरुवाती अग्रता रायो भालेकानोले गरेको थियो । रायोका लागि उनाइ लोपेजले ३९औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । पहिलो हाफमा आक्रामक प्रदर्शन गरेको रायो भालेकानो दोस्रो हाफमा खस्किएको थियो । बार्सिलोनाले ८२औँ मिनेटमा बराबरी गोल फर्कायो । अलेकजेन्डर बाल्डेको पासमा रायो भालेकानोका रक्षक लेजुएनको प्रहार आत्मघाती गोलमा परिणत भएपछि बार्सिलोनाको हार टरेको हो । 

बराबरीसँगै १४ खेलबाट ३१ अङ्क बनाएको बार्सिलोना चौथो स्थानमा छ । रायो भालेकाना १९ अङ्क बनाएको रायो भालेकानो नवौँ स्थानमा छ । शीर्षस्थानमा रहेको जिरोनाको ३४ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३२ अङ्क छ ।

बार्सिलोनासँगै समान ३१ अङ्क बटुलेको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । शनिबार राति नै भएको खेलमा एट्लेटिकोले मालोर्कालाई १–० गोलले हरायो । मालोर्काको जितमा एन्टोइन ग्रिजम्यानले ६४औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । एजेन्सी