• १८ असार २०८१, मङ्गलबार

ब्रेन्टफर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र ब्रेन्टफर्डका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, १० मङ्सिर । ब्रेन्टफर्डलाई उसैको मैदानमा हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलले खेलको अन्तिममा निर्णायक गोल गरेको थियो । आर्सनलको जितमा केइ हाभर्ट्ज नायक बन्नुभयो । उहाँले ८९औं मिनेटमा बुकायो साकाको पासमा हेड गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अङ्क दिलाउनुभयो ।

शनिबार साँझ भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल १–१ गोलको बराबरीमा रोकिएपछि आर्सनलले शीर्षस्थान कब्जा गर्ने मौका पाएको हो । जितसँगै आर्सनलले १३ खेलबाट ३० अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको सिटीको २९ र तेस्रो स्थानमा रहेको लिभरपुलको २८ अङ्क बनाएको छ । अन्य खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई ४–१ र वेस्ट हाम युनाइटेडले बर्नलीलाई २–१ गोलले स्तब्ध बनाएको छ । एजेन्सी