• १३ असोज २०८१, आइतबार

अराजक गतिविधि नियन्त्रण गर्न आग्रह

blog

पत्रकार भेटघाटमा आफ्नो धारणा राख्नुहुँदै एमाले सचिव योगेशकुमार भट्टराई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १० गते ।
नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले अराजक गतिविधि नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभएको छ । वर्तमान संविधान र व्यवस्थामाथि नै खलल् पुग्नेगरी हाल भइरहेको अस्वाभाविक साथै अराजक गतिविधि नियन्त्रण गर्न भट्टराईले सरकारलाई आग्रह गर्नुभएको हो ।

सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकारहरुसँगको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्र शाह, व्यवसायी दुर्गा प्रसाईंलगायत विभिन्न नाममा हुँदै आएको अराजक गतिविधिलाई सरकारले तल्काल नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभएको हो । पूर्व पर्यटनमन्त्रीसमेत रहनुभएका भट्टराईले समाजलाई नै भड्काउने खालको गतिविधि हुन थालेको अवस्थामा सरकार मूकदर्शक बन्न नहुने बताउनुभयो ।

हालको व्यवस्था, संविधान र जातीय तथा धार्मिक सद्भाव बिथोल्नेगरी भइरहेको अराजक गतिविधि नियन्त्रणका निम्ति सरकारले आवश्यक प्रक्रिया सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै यस्ता क्रियाकलापप्रति मुख्य राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । सामाजिक सद्भाव बिथोल्ने र वर्तमान व्यवस्था तथा संविधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

संविधान र वर्तमान व्यवस्थामाथि नै चुनौती बढेकोभन्दै उहाँले यसमा सरकार बढी गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । यस्ता तमाम खाले क्रियाकलाप भइरहँदा नेपाली कांग्रेसले पनि रमिते भएर बस्न नहुने उहाँको भनाइ छ । यस्तै अहिले एमालेमाथि भइरहेको चौतर्फी आक्रमण र षड्यन्त्रको डटेर प्रतिरोध गर्ने पनि उहाँले बताउनुभयो । उहाँले एमालेका नेतालाई निसान नबनाउन आग्रह गर्दै संबैधानिक व्यवस्था र राजनीतिक दलका रुपमा प्रतिस्पर्धा गर्न सम्बन्धित पक्षलाई सुझाव दिनुभयो ।

यता प्रदेशको कोशी नामकरणविरुद्ध पहिचान पक्षधरले गरिरहेको गतिविधिप्रति लक्षित गर्दै नेता भट्टराईले संवैधानिक बाटो र संसदीय प्रक्रिया विपरीतबाट लक्ष्य प्राप्त नहुने बताउनुभयो । शान्तिपूर्ण र सम्वादको माध्यमबाट निकास खोज्न पहिचान पक्षधरलाई सुझाव दिँदै उहाँले गैर संवैधानिक र अराजक गतिविधि रोक्न आग्रह पनि गर्नुभयो ।   

नेकपा एमाले जिल्ला कमिटीले आइतबारका लागि आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउन नेता भट्टराई गृह जिल्ला ताप्लेजुङ आउनुभएको हो । उहाँसँगै एमाले पोलिट ब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबेलगायतका नेतृत्वहरु कार्यक्रममा सहभागी बन्नुहुने एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।