• ८ जेठ २०८१, मङ्गलबार

स्थानेश्वर स्मृति प्रतिभा पुरस्कारबाट पोखरेल सम्मानित

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १० गते । स्थानेश्वर शर्मा अर्याल स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७ साहित्यकार मनोहरप्रसाद (विवश)पोखरेललाई प्रदान गरिएको छ । युवा साहित्यकार शम्भु अर्याल र सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले स्वर्गीय पिताको स्मृतिमा हरेक दुई दुई वर्षमा प्रदान गर्नेगरी स्थापना गरिएको पुरस्कार विराटनगरका पोखरेललाई प्रदान गरिएको हो । 

वालिङ ६ मिर्दीमा आयोजित विशेष साहित्यिक समारोहमा ६५ वर्षीय पोखरेललाई ११ हजार १११ रुपियाँसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । पोखरेलका कथा, कविता, नाटक, निबन्ध सहित नौ वटा पुस्तक प्रकाशन भएका छन् भने पत्रिका, स्मृति ग्रन्थ, मुक्तक सङ्ग्रहलगायतका १२ वटा प्रकाशनमा सम्पादन गर्नुभएको छ । पोखरेलले ३९ वटा सम्मान तथा पुरस्कार पाउनुभएको छ भने नेपाली बाहेक अङ्ग्रेजी, हिन्दी, बङ्गाली, कोरियन, उर्दू भाषामा समेत कथा, कविता प्रकाशन र विभिन्न नाटक तथा टेलिचलचित्रमा लेखन र अभिनय गर्नुभएको छ । 

पोखरेल नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ सभा सदस्य(दोस्रो पटक) सहित दुई दर्जन सङ्घ संस्थामा बद्ध रहनुभएको छ । यस्तै कार्यक्रममा वालिङ नगरपालिका– ६, का ४५ वर्षीय शम्भु अर्यालको निबन्ध सङ्ग्रह ‘मौन आवाज’ र ३९ वर्षीय मिलन उपाध्याय समीरको ‘मिलन समीर र मिलन समीरहरू ’ समेत लोकार्पण गरिएको छ ।  

 पुरस्कार वितरण तथा पुस्तक लोकार्पण गोरखापत्रका पूर्व प्रधान सम्पादक श्री ओम श्रेष्ठले गर्नुभएको हो । 


गाउँघरका पुस्तकहरू पहुँचको अभावमा ओझेलमा –श्रीओम श्रेष्ठ 

गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठले वार्षिक रूपमा करिब पाँच सय पुस्तक लेखिने गरेको बताउँदै कतै अभिलेख नभएका गाउँघरका पुस्तकहरू पहुँचको अभावमा ओझेल परेको बताउनुभयो । 

समाचार र प्रचार प्रसारको पहुँच पुगेका केही पुस्तकहरू वाह पाइ पाइरहेको बताउँदै श्रेष्ठले मोफसल बाट निस्केका पुस्तकहरू खोजी खोजी मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । लेखक बन्न सक्ने हामीहरू पाठक बन्न नसकेको बताउँदै श्रेष्ठले जबसम्म लेखक पाठक बन्न सक्दैन साहित्यको हृदय छाम्न नसक्ने बताउनुभयो ।